युएई विरुद्धको एकदिवसीय श्रृखंला नेपालले कब्जा, कप्तान पारसको शतकीय पारीमा

पोखरा, १४ माघ/ नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले सुझबुझ पूर्ण कप्तानी पारी खेल्दै शतक हिर्काएपछि युएई भ्रमणमा रहेको नेपालले एकदिवसीय श्रृखंला २–१ ले कब्जा गरेको छ ।

तेस्रो नम्बरमा व्याटिंगमा आएका कप्तान खड्काले १०९ बलमा ११५ रनको महत्वपूर्ण इनिंग खेल्दै नेपाललाई जितको आधार तयार पारेका थिए । ४४ ओभर ४ बलमा स्ट्राईकमा रहेको सोमपाल कामीले छक्का हान्दै छ विकेट क्षतिमा ३२ बल अघि चार विकेटको जित निकाले ।

ओपनर विनोद भण्डारीलाई ९ रनमै गुमाएको नेपालको इनिंग सम्हाल्ने दायित्व कप्तान खड्का माथि परेको थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल पनि एलबी डब्लुका धरापमा पर्दै पभेलियन फर्किपछि खड्कालाई साथ दिने क्रिजमा दिपेन्द्र सिंह ऐरी आईपुगे । तर ऐरीलाई पनि सस्तैमा गुमाएपछि नेपालको अवस्था खराब संकेत देखियो ।

डेब्यु गरेको सन्दीप झोराले पनि कप्तान खड्कालाई केही लामो समय साथ दिन सकेनन् । यद्यपी कप्तानले भरोसापूर्ण खेल देखाउँदै जितसम्म डोर्याउने अडिग रहे । झोराले १९ रन हिर्काउँदै आउट भएपछि रोहितकुमार पौडेल पनि १६ रनमै पभेलियन फर्किए ।

कप्तान खड्काले १०९ बल खेले । १५ चौका र १ छक्का हिर्काए । सोमपाल कामीले जितको लागि २६ रन हिर्काए । २५ बलमा उनले ३ चौका र विजयी छक्का ठोके । उनलाई नटआउट साथ भने आरिफ शेखले दिए । शेखले २१ रन जोडे ।

टस जितेको नेपालले युएईलाई व्याटिंगको निमन्त्रण गरेको थियो । साईमन अन्वरले ७० बलमा ८७ रन हिर्काएपछि सस्तैमा समेटिने अपेक्षा गरिएको युएईले ६ विकेटको क्षतिमा २५४ रनको फराकिलो स्कोर तयार पार्यो । ओपनर आसफाम अहमेद र चिराग सुरीलाई शुन्यमै पभेलियनको बाटो देखाएपछि नेपाली बलर हावी भएका थिए ।

तर करण केसीको बलमा आउट हुनु अघि सिपी रिजवनले ४५ रन हिर्काए । त्यसपछि आएका अन्वरले ८७ रन जोडेपछि युएईको लज्जास्पद स्कोरबाट माथि उकालेका थिए । मोहम्मद बुटा ३१ बलमा ५९ रन हिर्काए । उनले ५ चौका र ४ छक्का हान्दै युएईलाई खराब स्कोरबाट पार लगाए । नेपाली कप्तान पारस खड्का र करण केसीले समान दुई दुई विकेट लिए । खड्का खेलको म्यान अफ दि म्याच घोषित भए ।

कमेन्टहरु
Loading...