नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयक संसोधन होस्ः मन्त्री चुमान

पोखरा, २६ चैत/गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई संसोधन गर्न माग गरेका छन् ।

विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानून बनाउन नपर्ने भन्दै उनले उक्त विधेयक संसोधन गर्न माग गरका हुन् । उक्त विधेयक माथि १९० वटा संसोधन प्रस्ताव पेश हुँदा पनि सरकारले मुख नखोल्नु दुखद् भएको उनले टिप्पणी गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको संघीय संरचना र हाम्रो पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । केन्द्र सरकारलाई यो विधेयक फिर्ता लिएर संसोधित विधेयक पेश गर्न उनको सुझाव छ । आफ्नै प्रहरी प्रशासन विनाको सरकार सरकार हुन नसक्ने उनको प्रष्टोक्ति छ ।संविधानले नै दिएको अधिकार कटौति गर्नेढंगले ल्याइएको विधेयक संसोधन या फिर्ताको विकल्प नरहेको उनले प्रष्टाए ।

काम गर्दै जाँदा देखिएका अन्योललाई चिर्दै र जनअपेक्षित काम गर्दै प्रदेश सरकारले आफुलाई अगाडि बढाउने उनको भनाई छ । प्रदेश सरकारले केन्द्र सरकारसंग गुनासो नगरी आलोचना गरेको उनको प्रष्टोक्ति छ । ‘सरकारले गुनासो नभई केन्द्र सरकारको आलोचना गरेका हौं, गुनासो कम्जोरले गर्ने हो, सरकार कम्जोर छैनन् त्यही भएर गुनासो नभन्नुहोला,’ उनले भने ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सिंहदरबारको विबृति प्रदेशमा पनि आएको बताए । प्रदेश र स्थानीय सरकारलाई सक्रिय अनि स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । पत्रकारिता राजनीतिक आस्थाको छायाँमा परेकाले त्यसबाट माथि उठ्नुपर्ने उनको ठम्याई छ ।

लोकतन्त्र स्थापना गर्न भूमिका खेलेका सञ्चारमाध्यमलाई प्रदेश र स्थानीय सरकारले सहिढंगले बुझ्न नसकेको उनले बताए । प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारलाई नै उछिनेर प्रेस स्वतन्त्रता संकुचित गर्नेगरी कानून ल्याएकाले सच्याइनुपर्ने र प्रेस मैत्री बनाइनुपर्नेमा जोड दिए ।

महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाले संघीय सरकार र स्थानीय सरकारले गरेका कामबाट आम जनताले राहत पाए भन्ने विषय महत्वपूर्ण रहेको बताए । पत्रकारले यसैलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । कार्यक्रम स्थल कालावाङ होम स्टेका अध्यक्ष प्रकाश गुरुङले गाउँ स्तरमा सञ्चालन भएका विकास निर्माण, भएका आर्थिक कृयाकलापको बारेमा पत्रकारहरुले खोज्ने र लेखिदिनुपर्ने धारणा राखे ।

कार्यक्रममा अवधारणा पत्र राख्दै पत्रकार केशवशरण लामिछानेले संघीयता कार्यन्वयनका क्रममा देखिएका जटिलताले पत्रकारलाई पनि गाँजेको बताए । सरकारहरुका बीचमा देखिएका अन्योललाई प्रष्टाउने समाचार लेखिनुपर्ने खाँचो उनले औंल्याए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभूवन पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा कार्यक्रममा समितिका महासचिव गणेश पौडेल, पत्रकारहरु बाशुदेव मिश्र र दीपक परियार लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...