नक्कली लाइसेन्स बनाएर ठगी गर्ने चपाई पोखरामा पक्राउ

पोखरा, २५ मंसिर / लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गर्ने एकजना प्रहरीले पक्राउ गरेको छ । पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको हो । उनले लाइसेन्स बनाइदिने भन्दै प्रत्येक ब्यक्तिसँग ३० देखि ४५ हजार रुपैयाँ सम्म लिएको प्रहरीमा उजुरी परेको छ ।

गण्डकी यातायात कार्यलयको नक्कली फेसबुक आइडी बनाइ धेरैसँग पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज अरु नै ब्यक्तिबाट पठाउने र आइएमई मार्फत रकम मगाउने गरेको गुनासो पीडितको छ ।

उनले म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठ लगायतसँग लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्स बनाएर ठगी गरेका थिए । चपाईंको कोठाबाट २ जनाको नक्कली लाइसेन्स समेत फेला परेको प्रहरीले जनाएको छ ।

सरकारले सहजै लाइसेन्स दिन नसकेको मौका छोपी उनले नक्कली धन्दा गरेका हुन् । लिखित र ट्रायल पास भैसकेपछि बुझाएको राजश्वको रसिद नै अस्थायी लाइसेन्स भैरहेको छ । त्यस्तै प्रकारको कागज उपलब्ध गराएर चपाईंले धेरैसँग ठगेका छन् ।

चपाईंलाई मंगलबार मुद्धा चलाएर अनुसन्धान अघि बढाईदै छ । उनले गण्डकी यातायात कार्यालय पोखरा लाइसेन्स लेखिएको फेसबुक ग्रुप तथा पेजबाट जोडिएर लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गरेको आरोप छ ।

कमेन्टहरु
Loading...