कावासोतीमा कार र ट्रक ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु

नवलपुर, ७ असोज/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका ८ मा सोमबार राती ट्रक र कार ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको छ ।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा राति ११ बजे ठोक्किँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो ।

मृतक सबै पुरुष भएको र उनीहरुको सनाखत नभएको नवलपुरका प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते पाँच जनाको उपचारका लागि चितवन पठाए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ज्यान गुमाउनेहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । कार कच्याकुचुक्क भएको छ ।

त्यसै गरी नवलपरासीको मध्यविन्दु नगरपालिका १० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

ना ७ ख ८६४२ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...