साउन अन्तिम साता मुस्ताङमा ‘यार्तुङ’ महोत्सव

पोखरा, १६ साउन / मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा यार्तुङ महोत्सव आयोजना गरिएको छ । ‘यार्तुङ’ विशेष गरी वर्खा सिजनको अन्त्य भन्ने बुझाई छ । बुझाईसँगै मुक्तिक्षेत्रबासीले पहिलो पटक यार्तुङ महोत्सव गर्दै छन् ।

साउन २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्दै बारागुङ क्षेत्रमा महोत्सव सञ्चालन हुने मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्न योजना गण्डकी प्रदेश सरकारको छ । त्यही अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणास्थलमै सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिने छ । ‘महोत्सवमा सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गरिने छ ।’ पत्रकार सम्मेलनमा उनले भने–‘फुटबलसँगै घोडा दौडको प्रतिस्पर्धा समेत हुने छ ।’

घोडा दौड मुस्ताङीको शानको रुपमा समेत लिने गरेका छन् । ‘गर्मी विदा मनाउने पर्वको रुपमा यार्तुङलाई लिईन्छ ।’ उनको भनाई थियो । ३.५किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुुरीको घोडा दौड प्रतियोगिता आयोजना गरिने गाँउपालिकाका प्रमुख प्रशासनिक अधिकृत दिपक रेग्मीले बताए । हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिने छ । गाँउपालिका भित्रका १९ वटा गाँउको परम्परागत भेषभुष प्रर्दशन समेत गरिने उनले जानकारी दिए ।

यार्तुङको समयमाा स्थानीयबासीले विशेष गरी गरगहना सापटी मागेर लगाउने प्रचलन समेत छ । यार्तुङ मनाङमा समेत मनाउने गर्छन् । तर मुस्ताङमा यार्तुङ मनाउन विदेशमा रहेको मुस्ताङबासी समेत फर्केर आउने प्रमुख प्रशासनिक अधिकृत रेग्मीको भनाई थियो । दुई करोडको कारोबार गर्ने अभियानसँगै १० हजार दर्शकलाई यार्तुङ महोत्सवमा उकाल्ने योजना मुस्ताङबासीको छ । स्थानीय उत्पादन फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्मु लगायत चिजविज विक्री वितरण गरिने जनाईएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाँउपालिकामा ३ हजार जनसंख्या छन् । कोही विदेश गएका छन् । कोही शहर झरेका छन् । उनीहरु यार्तुङको समयमा फर्किने विश्वास स्थानीयबासीले गरेका छन् । ३.५ किलोमिटर घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...