मिलेनियम ट्रेक ‘वर्ड वाचिङ’को लागि उपयुक्त

पोखरा, २० जेठ/ सवारी आवात जावत कम छ । बस्ती पनि घना छैन् । जंगल छ । बातावरण निकै शान्त छ । शान्त वातावरण भएकै कारण पहाडी क्षेत्रमा स्थापित मिलेनियम ट्रेकलाई चरा अध्ययन अवलोकन केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

१९ वर्ष अघि प्रचलनमा आएको सहस्राब्दी मार्ग (मिलेनियम ट्रेक)लाई ‘वर्ड टुरिज्य एरिया’को रुपमा विकास गर्नुपर्ने पोखरा पंक्षी समाजले औंल्याएको छ । तनहुँदेखि शुरु भई स्याङजा पुगेर टुंगिने ७२ किलोमिटर दुरीको मार्गमा सर्भे(अनुसन्धान)गरेपछि चरा अध्ययन केन्द्रको रुपमा अगाडि बढाउन सकिने प्रारम्भिक निष्कर्ष पोखरा पंक्षी समाजले जनाएको छ ।

मिलेनियम ट्रेक पदमार्ग व्यवस्थापन समिति र पोखरा पंक्षी समाज बीच चरा अध्ययनको लागि आपसी सहमति भएको थियो । सहमति अनुसार पंक्षी समाजले गत वर्ष पहिलो चरणको अध्ययन गरेर फर्किएको थियो । ‘गतवर्ष हामीले प्रि मनुसुन अगाडि अध्ययन गर्यौं । अध्ययनको क्रममा सबैभन्दा बढी काँडे भ्याकुर भेट्यौं । अन्य अति संकटमा परेको केही चरा पनि देखियो ।’ पोखरा पंक्षी समाजमा सचिव हेमन्त ढकालले भने–‘रिपोर्ट तयार गरेका छौं ।

हिउँदमा फेरी एक पटक अध्ययन गरेपछि फाईनल रिपोर्ट तयार गर्छौ ।’ उनका अनुसार पंक्षी समाज र पदमार्ग व्यवस्थापन समितिसँग सम्झौता भएपछि थप तीन चरणको अध्ययन गरिने छ ।
पंक्ष समाजले ६ दिन अध्ययन गर्ने क्रममा सबैभन्दा सर्वसुलभ रुपमा काँडे भ्याकुर पाईने जनाएको छ । ‘काँडे भ्याकुर अध्ययन गर्न निकै उपयुक्त क्षेत्र छ ।’ उनले भने–‘प्रत्येक दिन हिडँदा हामीले २३ पटक चराको आवाज र प्रत्यक्ष देख्यौं ।’

उनका अनुसार अध्ययनको क्रममा पदमार्ग अन्तर्गत रजस्थलदेखि लामागाँउसम्मको क्षेत्र उपयुक्त क्षेत्र छ । संरक्षणको सूचीमा रहेको लुँईचे, मांशहारी प्रजातिका चरा समेत भेटिएको उनले सुनाए । काँडे भ्याकुर हेर्न अध्ययन गर्ने मिलेनियम ट्रेक उपयुक्त भएको उनले बताए । ‘चरा प्रेमीको लागि (बर्ड लभर्सं) यो क्षेत्र निकै राम्रो छ ।’ उनको भनाई थियो ।

पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार सर्भेको क्रममा ११४ प्रजातिका चराहरु भेटिएको छ । सुन गिद्ध, डंगर गिद्ध, सेतो गिद्ध लगायत गिद्धहरु देखिएको थियो । ‘९ गिद्ध मध्ये ७ प्रजातिका गिद्ध देखिनुपर्ने थियो । समय अनुकुल नभएकोले केही गिद्ध देखिएनन् ।’ उनको भनाई थियो ।

सर्भेको क्रममा कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाई, कालो चिल, काकाकुल, शिक्रा, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरा लगायतका प्रजातिका चरा भेटिएको पोखरा पंक्षी समाजका सचिब ढकालले जानकारी दिए ।

पदयात्रा मार्गमा होमस्टेको व्यवस्थापन हुदैै छ । होम स्टेको व्यवस्थापनपछि चरा अध्ययन केन्द्रको रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड उनको थियो । ‘पहाडी भेगमा पाईने चरा अध्ययनको लागि उपयुक्त हुन्छ ।’ उनको भनाई थियो । उनका अनुसार होमस्टेको व्यवस्थापनसँगै पानीको समस्या छ । पानीको समस्या समाधान गर्नुपर्ने खाँचो छ ।

मिलेनियम टे«क व्यवस्थापन समितिका महासचिव हर्क गुरुङका अनुसार पदयात्रा मार्गलाई प्रचार प्रसारको लागि गुरुयोजना बनाईराखिएको जानकारी दिए । उनले सूचना प्रविधि मार्फत प्रचार लागि १७ लाख रुपैयाँको लागतमा मण्डला सोलुशनसँग सम्झौताको तयारी गरिएको बताए । प्रचारको लागि मोवाईल एप समेत प्रयोगमा ल्याइने छ । त्यसैगरी पोखरा पंक्षी समाजसँग समेत चरा अध्ययन(सर्भे) गर्न सम्झौताको तयारी गरिएको सुनाए । ‘पोखरा पंक्षी समाजले पहिलो चरणको काम गरिसकेको छ ।

सर्भेको लागि उहाँहरु (पोखरा पंक्षी समाज)ले प्रस्ताव गर्नुभएको छ ’ महासचिव गुरुङले भने–‘सम्झौताको तयारीमा छौं । सम्झौतापछि थप तीन चरणमा सर्भे हुन्छ । अनि फाईनल रिपोर्टको आधारमा प्रवद्र्धनमा अगाडि बढ्छौं ।’ उनका अनुसार सर्भेको लागि पंक्षी समाजले ६ लाख रुपैयाँको प्रस्ताव पेश गरेको छ ।

गुरुयोजना तयार भएपछि भ्रमण वर्ष २०२० मा मिलेनियम ट्रेकमा ५० हजार आन्तरिक तथा बाह्य पर्यटक पुर्याउने लक्ष्य समितिले लिएको छ । ७२ किलोमिटरको पदयात्रा मार्ग तनहुँको दुलेगौडास्थित उचाई रक गार्डेन (४२० मिटरदेखि) स्याङजाको वालिङ नगरपालिका बुढाकोट (१७०९ मिटरको उचाईसम्म ) पुगिन्छ । पदयात्रा ६ रात ७ दिनको हुन्छ ।

कमेन्टहरु
Loading...