मादी गाँउपालिकामा सार्वजनिक सुनुवाई गुनासै गुनासा

पोखरा, १३ बैशाख/ नयाँ शैक्षिक सत्र शुरु भईसकेको छ । पाठ्यपुस्तक विद्यार्थीले सहजै पाउन सकेका छैनन् । खरीद गर्न समस्या छ । विद्यालय जानको लागि खोला तर्नुपर्ने बाध्यता छ । खोलामाथि पुल बनेको छैन् ।

आउन जान समस्याले विद्यार्थी पिरोलिएका छन् । विद्यालयमा शिक्षक अभावको समस्या पनि उस्तै छ । उता स्वास्थ्य संस्थामा औषधीको व्यवस्था समेत नहुदाँ सर्वसाधारणले सामान्य उपचार सेवाबाट बन्चित छन् ।

निर्माणाधिन सडकका पुर्वाधार पुरा भएको छैन् । काम गर्ने जिम्मेवारी पाएका ठेकेदारले लामै समयसम्म पनि पुरा नहुदाँसडकको पुर्वाधार तयार भएकै छैन् । किसानलाई बीउविजन समयमै पाउन सकेका छैनन् । उत्पादित कृषिको बजार व्यवस्थापनको समस्याले बल्झाईरहेको छ ।

उत्पादित कृषिजन्य बस्तु बाँदरको समस्याले किसानलाई आजित भएका छन् । प्राकृतिक प्रकोपको क्षतिपूर्ति व्यवस्था नहुदाँ पीडित हुनु परेको यावत गुनासो सर्वसाधारणले गरेका छन् । कास्कीको मादी गाँउपालिकाले आफनो दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई गर्ने क्रममा गाँउका गाउँलेले विविध पाटालाई कोट्याउँदै आफना गुनासाका पोकाहरु एकपछि अर्को गरी फुकाँउदै गए ।

गाउँपालिका तथा वडा नं. ८, ९, १०, ११ र १२ मा भएका सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी योजनाका बारेमा सार्वजनिक सुनुवाई गरिएको थियो । प्रत्येक वडाका वडाध्यक्षले आफनो वडामा भए गरिएका योजनाहरुको विषयमा बेलविस्तार लगाएका थिए ।

सुनुवाईमा उठेका गुनासोलाई सम्बोधन गर्ने क्रममा वडाहरुले स्वास्थ्य संस्थाहरुमा औषधिहरुको व्यवस्थापन गरिएको छ, आगामि आर्थिक बर्षको शुरुको समयलाई समेत पुग्ने गरी पुनः औषधि व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिलाई शिक्षकको सरुवामा आवश्यक परामर्श बिना सहमति नदिन गाउँपालिका शिक्षा समितिको सुझाव छ । कृषि, पर्यटन र जलश्रोतलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाउने र कार्यान्वयन गर्नेतर्फ गाउँपालिकाले ध्यान दिने तर्फ सचेतसहित प्रतिबद्ध गरेका छन् ।

विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि डिपिआर बनाउने तथा यसै आर्थिक बर्षमा नै निर्माण प्रक्रिया शुरु गर्नका लागि टेण्डर प्रक्रिया शुरु गरिने उल्लेख गरे ।

कृषकले राखेका कृषि उत्पादनको बजार व्यवस्थापन, दुग्ध संकलन केन्द्र स्थापना गर्ने पहलको सुझावलाई समेत वडाहरुले मनन गर्दै आगामि आर्थिक बर्षमा यस्ता योजना समावेश गर्न पहल गरिनेमा जोड दिएका छन् । असिना पानीबाट क्षति पुर्याएकाको क्षतिपुर्ति सम्बन्धमा पहल गरिनेलाई समेत उल्लेख गरिएको छ ।

बीउविजन वितरणलाइ प्रभावकारी बनाउने, कृषकको न्यूनत्तम लागत पाउने खालको व्यवस्थापन, विद्युत महशुल गाउँपालिकाभित्रैबाट तिर्ने व्यवस्था आगामि आर्थिक बर्षबाट शुरु गरिने वडाहरुले प्रतिबद्धता गरेका छन् । सामाजिक सुरक्षा भत्ता बैंक मार्फत् गाउँपालिकाका सबै वडाबाट वितरणको व्यवस्था मिलाइएको छ । यसलाई थप सहज बनाउँदै लगिने जनाईएको छ ।

सार्वजनिक सुनुवाईमै गाउँपालिकाले ४२ वटा ऐन, नियम, कार्यविधि, निर्देशिका पारित गरेको छ । प्रतिवेदनमा गाउँपालिकामा २६११ घरधुरी कायम भई २६ लाख १६ हजार राजस्व प्राप्त भएको, सम्पत्ति करको कम्प्युटर विलिङ, सामाजिक सुरक्षा भत्ता बैंक मार्फत् सबै वडामा नै उपलब्ध गराउने व्यवस्था, विभिन्न योजनाहरु सञ्चालनका लागि उपभोक्ता समिति गठन गरी योजना सम्झौता तथा कतिपय योजना सम्पन्न भई प्राविधिकको मुल्याकंन पश्चात भुक्तानी समेत भएको र कतिपय सञ्चालनमा रहेको उल्लेख छ ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार पूँजीगत तर्फ कूल १८ प्रतिशतमात्र कार्यप्रगति रहेकामा केही ठूला पूवार्धार वडा कार्यालयका भवनको लागि टेण्डर प्रक्रिया हुने चरणमा रहेकाले आर्थिक बर्षको अन्त्य सम्ममा ९५ प्रतिशत बजेट कार्यान्वयन हुने दावी गरे । कुल बजेट ३२ करोड ५६ लाख ७७ हजार १ सय ४३ रुपैयाँ पा्रप्त भएको जसमा ३ करोड ६९ लाख १९ हजार ३ सय ८९ आन्तरिक तथा सामाजिक सुरक्षा भत्ता तर्फ ४ करोड ९५ लाख ३६ हजार प्राप्त भएको उल्लेख गरे ।

गाउँपालिकाका तर्फबाट भौतिक पूर्वाधार तर्फ सडक, खानेपानी, वडाका भवन लगायतका विभिन्न संरचना निर्माण सम्बन्धि, कृषि, पर्यटन लगायतका क्षेत्रमा संचालित कार्यक्रम, गाउँपालिकाको गुरुयोजना निर्माणको काम, सेवाग्राही नागरिकलाई गरिएको सहयोग, विभिन्न तालिम अनुशिक्षण कार्यक्रम, गाउँपालिकाका तर्फबाट भएका अध्ययन अवलोकन भ्रमण लगायतका विषयमा समावेश गरी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

वडा नं १० का वडाध्यक्ष कुलप्रसाद गुरुङले समग्र वडाभित्र विभिन्न ३२ वटा योजना रहेकामा १५ वटा सम्पन्न भएको र बाँकी १७ वटा योजना कार्यान्वयनको चरणमा बताए । वडा नं. ११ का अध्यक्ष मित्र गुरुङले वडाभित्र विभिन्न २९ वटा कार्यक्रम रहेकामा २२ वटा सम्पन्न भएको, २ वटा सञ्चालनमा रहेको र ५ वटा कार्यक्रम शुरु नै नभएको जानकारी दिए ।

सडकको स्तरोन्नति गर्ने, वडा कार्यालयको स्तरोन्नति गर्नुपर्ने लगायतमा पहल गरिने भन्दै उनले सेवा प्रवाहलाई स्थानीय नागरिकको घरदैलोसम्मै पुर्याउने प्रयास भइरहेको प्रतिद्धता जनाए ।
वडा नं. १२ वडा सदस्य इन्द्रबहादुर क्षत्रीले वडा कार्यालय नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताए ।

वडा कार्यालय विद्यालयको कोठा भाडामा लिएर सञ्चालन भइरहेको र शौचालय समेतको समस्याका बाबजुद पनि सेवा प्रवाहलाई सरल बनाईएको उनको आफनै गुनासो रह्यो । ३ घण्टा पैदल हिडेर वडा कार्यालय पुग्नुपर्ने अवस्था रहेको उनको गुनासो थियो । उनले प्रदेश र संघले सञ्चालन गर्ने योजनालाई स्थानीय सरकारको समन्वय नहुँदा समस्या भएको उल्लेख गरे ।

सुशासन समितिका संयोजक विष्णु गौतमले भ्रष्टाचार न्युनीकरण गर्न सुशासन आवश्यक हुने बताए । कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासा, सल्लाह सुझावलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष विष्णु आचार्य पौडेल, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, प्राविधिक ईं.महेन्द्र आचार्य, शिक्षा शाखा प्रमुख हिमलाल शर्मा, कृषिका हिरा शाह लगायतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...