अन्नपूर्ण हिमाल सम्म केबुलकार चलाउने मादी गाउँपालिकाको योजना

केशवशरण लामिछाने
कास्की, २९ असार /कास्कीको मादी गाउँपालिकाले हिमालसम्म केबुलकार सञ्चालन गर्ने योजना सार्वजनीक गरेको छ । बुधबार भएको गाउँ परिषदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै अध्यक्ष वेदबहादुर गुरुङले उक्त योजना सार्वजनिक गर्नुभएको हो।

पर्यटकीय गाउँ सिक्लेसबाट अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबुलकार सञ्चालन गरेर हिमाल फेदीको खर्कमा पर्यटकलाई स्केटिङ खेलाउने गाउँपालिकाको प्रस्तावित योजना छ। आजको अन्नपुर्णमा खबर छ । सिक्लेसको भुलकचाबाट हिमाल फेदीको कोरीभन्ने ठाउँसम्म केबलकार सञ्चालन गर्ने योजनाको सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक वर्षको बजेटमा ६ लाख रुपैयाँ विनियोजन गरेको जानकारी पनि अध्यक्ष गुरुङले दिनुभयो।

मादी १ सिक्लेसका वडाध्यक्ष सुरज गुरुङले कोरीमा वर्षको ८ महिना हिउँ भइरहने र त्यहाँ निकै फराकिलो ठाउँ भएकाले स्केटिङको सम्भावना पहिल्यैदेखि औंल्याइएको बताउनुभयो। ‘पिचबाटो बनेपछि पोखराबाट २ घन्टामा सिक्लेस पुग्न सकिन्छ र त्यहाँबाट केबुलकार चढेर हिमालको फेदीमा पुग्न सकिन्छ’, उहाँले भन्नुभयो। सिक्लेस १९ सय मिटर अग्लो गाउँ हो।

गाउँपालिका अध्यक्ष वेदबहादुरले निजी क्षेत्रको सहकार्यमा केबुलकार सञ्चालनको अवधारणा ल्याइएको हो। ‘त्यसमा स्थानीयको सहभागिता पनि सुनिश्चित गरिनेछ’, उहाँले भन्नुभयो। पूर्वाधारलाई पहिलो प्राथमिकता र त्यसपछि पर्यटन तथा कृषिलाई महत्व दिएर पारित मादीको आउँदो वर्षको बजेट ३७ करोड ९१ लाख रुपैयाँको छ। त्यसमध्ये ४४ प्रतिशत पुँजीगत र ५६ प्रतिशत बजेट चालु हो।

५ सय ६५ वर्गकिलोमिटर क्षेत्रफलको र कास्कीकै सबैभन्दा ठूलो स्थानीय तह मादी गाउँपालिकाले केन्द्रीय अनुदान ३२ करोड रुपैयाँ प्राप्त गर्दैछ। सामाजिक सुरक्षामा मात्रै ५ करोड रुपैयाँ खर्च हुँदैछ। आन्तरिक स्रोतबाट भने २६ लाख रुपैयाँमात्रै आम्दानी हुने अनुमान गरिएको छ। ‘स्थानीय तहसम्बन्धी सबैथरी कानुन नआएको हुँदा कर लगायत विषयमा टुंगोमा पुग्न सकेका छैनौं’, अध्यक्ष वेदबहादुरले भन्नुभयो, ‘मादी नदीको ढुंगागिटी बालुवाको ठेक्का अर्का वर्षलाई पनि जिल्ला समन्वय समितिले लगाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले छुट्टै आम्दानी गरिरहेको छ। धेरै कुरामा अन्योल बाँकी छ।’

गाउँपालिकाभित्र सिँचाइ पुगेको कृषिभूमि बाँझो राखे कडा जरिवाना लगाउने नीति गाउँसभाले पारित गरेको जानकारी अध्यक्ष वेदबहादुरले सार्वजनिक गर्नुभयो। भूकम्प प्रतिरोधी घर निर्माण गर्न मापदण्ड बनाएर कडाइका साथ लागु गर्ने, सामुदायिक विद्यालयहरुमा अंग्रेजीलाई अनिवाय गराउने, मातृभाषामा शिक्षा लिन पाउने व्यवस्था मिलाउने, तमुभाषीका लागि कार्यालयहरुमा दोभाषेको व्यवस्था गर्ने लगायत नीति पनि सभाले पारित गरेको छ। मादीमा कृषि र पशुसम्बन्धी विषयगत कार्यालयहरु पुगिसकेका छन्।

तीमार्फत व्यावसायिक कृषिको विकास गर्ने गाउँको योजना छ। युवा लक्षित र युवा स्वरोजगार कार्यक्रममार्फत अनुदान दिलाएर कृषिको व्यावसायीकरण बढाउने योजना अध्यक्ष वेदबहादुरले सुनाउनुभयो। गाउँपालिकाको केन्द्र र वडा कार्यालयहरुका लागि ठाउँ निश्चित गर्न गाउँसभाले समिति गठन गरेको छ।

कमेन्टहरु
Loading...