लुम्बिनीका ३४६ मतदान स्थल अति संवेदनशिल

सागर राज तिमिल्सिना
पोखरा ११ असार/दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर ५ अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाका ३४६ मतदान स्थल सुरक्षाको दृष्टिले अति संवेदनशिल रहेका छन् ।

लुम्बिनी अञ्चलका ६ जिल्लाको कुल ९१० मतदान स्थल मध्ये सुरक्षा संवेदनशिलताको आधारमा ३४६ अतिसंवेदनशिल, २४५ संवेदनशिल र ३९१ सामान्य रहेको क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रबक्ता एबं प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले आइतबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

मतदान स्थलको संवेदनशिलताको आधारमा एउटा मतदान स्थलमा ७ देखि २३ जना सम्म प्रहरी र म्यादी प्रहरी परिचालित हुने उनले बताए । लुम्बिनी अञ्चलको निर्वाचन सुरक्षाका लागि ७ हजार २ सय ८० प्रहरी र ७ हजार ८ सय ७५ म्यादी प्रहरी परिचालन गरिएको छ ।

कुल १४ लाख २ हजार ५ सय ७१ मतदाता रहेको लुम्बिनीका ६१ स्थानीय तहमा १३ हजार २४२ उम्मेदवार प्रतिश्पर्धामा छन् । पश्चिम क्षेत्र अन्तर्गत प्रदेश नम्बर ५ को लुम्बिनी अञ्चलका ६ जिल्लामा १ उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिका छन् ।

यो अञ्चलको ६१ स्थानीय तहमा कुल २ हजार ९२२ जना जनप्रतिनिधि निर्वाचीटत हुनेछन् । असार १४ गते हुने मतदानको लागि सबै मतदान स्थलमा मतदान सामाग्री पुगिसकेको र प्रहरी युनिट खटिसकेको प्रहरी उपरिक्षक कुँवरले बताए । प्रदेश नम्बर ५ का ६ जिल्लाको सुरक्षाको लागि क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा क्षेत्रीय सुरक्षा प्रमुखहरु रहने गरी कमाण्ड युनिट खडा गरिएको उनले बताए

लुम्बिनी अञ्चलमा निर्वाचन विरोधी गतिविधि गर्ने ८६ जना राजपाका कार्यकर्ता पक्राउ गरिएकोमा १४ जनामाथि मुद्धा चलाइएको र ७२ जनालाई जमानीमा छाडिएको समेत क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । साथै निर्वाचन सुरक्षामा प्रभाव पार्ने गतिविधिमा संलग्न नेकपा माओबादी बिप्लव समुहका १५ कार्यकर्ता पक्राउ गरिएकोमा १० जनालाई तारेखमा छाडिएको र ३ जनामाथि थप अनुसन्धानका लागि म्याद थप गरी दुई जनालाई छाडिएको छ ।

सुरक्षा ब्यवस्थालाई मजवुद बनाउने गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तीन वटै सुरक्षा निकायको विचमा समन्वय गरी योजना तयार पारिएको समेत जनाइएको छ । निर्वाचन सुरक्षाको संवेदनशिलतालाई मध्येनजर गरी भारतसँग सिमा जोडिएका जिल्लाको सिमा नाका ४८ घण्टा पहिले बन्द गर्ने समेत निर्णय भएको छ ।

कमेन्टहरु
Loading...