लायन्स मल्टिपल फेलोसिपको तयारी पुरा

पोखरा, २ मंसिर/लायन्स मल्टिपल फेलोसिप कार्यक्रमको तयारी पुरा भएको छ । देशभरका करिब ७ हजार लायन्स सदस्य तथा लिडरहरुको उपस्थितिमा शनिबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मल्टिपल फेलोसिप हुँदैछ । लायन्स कुम्भ मेलाका रुपमा लिइएको उक्त कार्यक्रममा सहभागीहरु लायन्स लिडर तथा सदस्यहरु परिवारसहित धमाधम पोखरा आउने क्रम जारी रहेको कार्यक्रम चियरपर्सन ध्रुव थापाले जानकारी दिए ।

शनिबार बिहान ८ बजे पोखराको चिप्लेढुंगाबाट सुरु हुने सताब्दिऔं परेड महेन्द्रपुल, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगेपछि फेलोसिप कार्यक्रम शुभारम्भ हुनेछ । फेलोसिप कार्यक्रमका आकर्षणहरुमा महिला कबड्डी, क्वीज कन्टेस्ट, भलिबल, फुटबल, रस्साकस्सी, युगल नृत्य, म्युजिकल चियर, अन्तर लायन्स डिस्ट्रिक्ट दोहोरी प्रतियोगिता, बिबिध सांस्कृतिक कार्यक्रम, मौलिक खानाका परिकारहरु लगायत छन् ।

झाँकी प्रदर्शनी, दोहरी तथा पप गीत प्रस्तुति, फेशन सोलाई पनि कार्यक्रममा समावेश गरिएको कार्यक्रमका मिडिया संयोजक सुदिपराज ढुंगानाले जानकारी दिए ।  कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने कार्यक्रमका सचिव नारायणहरि भण्डारीले बताए । ‘पोखरा डिस्टिनेसन अफ प्लेजर’ नाराका साथ कार्यक्रम गर्न लागिएको हो ।

लायन्स मेलामा खेलकुद, नाचगान, खानपिन, भाइचारा अभिबृद्धि, तथा मूल समारोहमा केन्द्रित रहने कार्यक्रमका संयोजक बिमला श्रेष्ठले बताइन् । नेपालमा रहेका चारवटै लायन्स डिष्ट्रिक्टका क्याविनेट मिटिङहरु एउटै समयमा नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरामा शुक्रबार हुँदैछ । मल्टिपल फेलोसिपको पूर्व सन्ध्यामा हुने क्याविनेट मिटिङलाई पनि महत्वका साथ हेरिएको छ ।

कमेन्टहरु
Loading...