लाहुरे हुन छाडेका कोमल, परदेशका अब्बल नेपाली

प्रकास ढकाल
पोखरा, ४ साउन /गुरुङ समुदायमा एउटा निरन्तरता छ, लाहुरेको छोरो लाहुर जाने परम्परा। त्यस्ता घरहरु विरलै भेटिन्छन्, जहाँ लाहुरे परिवारमा हुर्केका जवानहरु लाहुर नछिरेका हुन्। बाबुआमा लाहुरे भए छोराछोरीलाई पनि भर्ति हुन सजिलो हुन्छ। स्याङ्जा देवीस्थानका कोमल गुरुङ उर्फ स्याङजाली कान्छालाई पनि लाहुर जाने सोच थियो। उनका बाबुको चाहना पनि उनलाई लाहुरे भएको देख्ने थियो। तर, सबैको भाग्य बाबुआमाले चाहे जस्तो हुँदैन र स्वयं आफ्नै इच्छाले पनि चल्दैन।

त्योभन्दा कयौं गुना ठूलो हुन्छ। गुरुङ तीन पटकसम्म ब्रिटिस सेनाका लागि नापिए। दुर्भाग्य उनी भर्ति हुन सकेनन्। सेनामा भर्ति नभएपछि उनले आफ्नो भाग्य आफै पत्ता लगाए। २१ वर्षअघि सन् १९९६ मा हङकङ आइडि पाएर जब उनी हङकङ छिरे, त्यसपछि उनको दैनिकी बदलियो ।उनीमात्रै बदलिएनन्, हङकङमा बस्ने कयौं नेपालीहरुको दैनिकी बदले, उनले।
गुरुङ अहिले हङकङका सफल नेपाली व्यवसायी हुन्। उनको परिचय यतिमात्रै सीमित छैन, समाजसेवा पहिलो रोजाई हो।

हङकङमा कुनै राजनीतिज्ञ, समाजसेवी, व्यवसायी र नेपालीलाई समस्या पर्दा कस्सिएर सघाउँछन्, उनी। १९ वर्षदेखि ग्रोसरी पसल गर्दै आएका गुरुङले पछिल्लो ५ वर्षयता ट्राभल एजेन्सी र कागो व्यवसायसमेत शुरु गरेका छन्। यस्तै, दुर्इ वर्षदेखि कन्सट्रक्सन कम्पनी चलाएका छन्। हङकङका धेरै ठाउँमा उनले आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्। पहिलो पटक सन् २००८ मा हङकङको संसदीय चुनावमा उम्मेदवारी दिने पहिलो नेपाली उनै थिए। चुनावमा नजिते पनि उनले आफ्नो क्षेत्रमा लोकप्रियता कमाए।

परिवारमा कान्छा छोरा भएकाले उनको नाम कान्छा झुण्डिएरै बढी चर्चित भयो।हङकङमा उनी असली नामले भन्दा स्याङ्जाली कान्छाको रुपमा चिनिन्छन्। ‘उतिबेला लाहुरे भएको भए अहिले म यो ठाउँमा हुन्थिनँ। यो मान सम्मान भन्ने नै हुन्थेन’ कान्छा भन्छन् ‘भाग्यले लाहुरे भइनँ, समाजसेवी हुन पाएँ।’ कसैलाई दुःख परेका बेला सघाउन पाए भने उनी निकै खुसी हुन्छन्। थुप्रै सामाजिक अभियानमा उनको सहयोग छ। नेपालमा कुनै विपत् पर्नेवित्तिकै उनी सहयोग जुटाउन थाल्छन्।

‘भाग्यले जता डोहोर्‍याउँछ उतै कर्मथलो बन्ने हो।हङकङ बसे पनि नेपालीलाई आपत पर्दा मन भक्कानिएर आउँछ’-उनले थपे(‘सानो रकम आफै सहयोग गर्छु अलि बढी चाहियो भने संकलन अभियान चलाउँछु।’ मासिक १५ देखि १६ हजार हङकङ डलर उनले सामाजिक सेवामा खर्च गर्छन्। यो सबै सेवा गर्न उनलाई निजी व्यवसाय नै काफी छ। नेपालीलाई भिसा प्रक्रियामा झन्झट हुँदा समस्या सुल्झाउन उनी नै अगाडि लाग्छन्। चुनावपछि अध्यागमन कार्यालयमा पनि उनको पहुँच राम्रो बनेको छ। उनकै सहयोगमा धेरै नेपाली कलाकारले हङकङमा पुगेर आफ्नो कला देखाउन पाएका छन्।

धेरै कार्यक्रम उनकै पहलमा आयोजना हुन्छन्। पहिलो पटक नेफ्टा अवार्ड उनै संयोजनमा हङकङमा आयोजना गरिएको थियो। जहाँ एकैपल्ट ८५ बढी नेपाली सिने कलाकार हङकङ पुगेका थिए।कला क्षेत्रमा पनि उनको लगानी छ। नेपाली सिनेमा अञ्जुलीमा उनले नै लगानी गरेका थिए। गुरुङ नेपालमा पनि आफ्नो ब्यवसाय विस्तार गर्न चाहन्छन्। समाजसेवा र व्यवसायमा छुट्टै छवी बनाएका गुरुङले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङको आसन्न छैठौं निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

२३ जुलाई २०१७ मा अधिवेशन हुँदैछ। हङकङमा क्रियाशील सबैजसो सामाजिक तथा व्यावसायिक संघसंस्था आफ्नो पक्षमा रहेको भन्दै आफूले जित्ने गुरुङको दाबी छ। अहिलेसम्म गरेको सामाजिक कामले मैले दिएको उम्मेदवारी सफल हुनेमा ढुक्क छु।हङकङमा बस्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीले साथ दिनुहुनेछ’उनले भने‘अध्यक्षमा जितेपछि मेरो समाजसेवा झनै उचाइमा पुग्नेछ।’ हङकङमा नेपालीले सिकेका सीप र कमाएको रकमबाट नेपालमा सामूहिक लगानी भित्र्याउने र नेपालको पर्यटकीय सम्भावनाको प्रचार हङकङमा बढाएर पर्यटन नेपाल भित्र्याउने योजना रहेको उनले सुनाए।

उनी हाल एनआरएन हङकङका सदस्य, नेपाल च्याम्बर अफ कमर्सका जनसर्म्पर्क समिति सल्लाहकार, तमु धिंका सल्लाहकार, स्याङ्जा जनसर्म्पर्क समितिका अध्यक्ष, थुम्रो इन्टरनेशनलका सल्लाहकारलगायत दर्जन बढी संघसंस्थामा आवद्ध रहेर समाजसेवाको काम गरिरहेका छन्। उनी हङकङकै प्रतिनिधित्व गर्ने जोर्डन यामाताई युथ क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघ पश्चिमाञ्चलका सल्लाहकार पनि हुन्। उनले केही समयअघि स्याङ्जाको कोल्मा सामुदायिक क्यपासमा १७ लाख, राडभाङ सामुदायिक भवन निर्माणका लागि १२ लाख ५० हजार, स्याङ्जा तमु भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन्।गुरुङले थुम्रो इन्टरनेशनलमार्फत सञ्चालित छात्रावृत्तिका लागि पनि सहयोग गर्दै आएका छन्।

कमेन्टहरु
Loading...