२० करोड रुपैयाको कारोबार गर्दै लेखनाथ महोत्सव सम्पन्न

लेखनाथ, १७ फागुन /कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथ महोत्सव २० करोड रुपैयाको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।
महोत्सवको समापन गर्दै क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइरालाले पर्यटन उद्योगका लागि लेखनाथ संभावनाको क्षेत्र रहेको उल्लेख गरे । प्रशासक कोइरालाले आर्थिक समृद्धिका लागि स्थानीय तथा कृषि उत्पादनमा जोड दिदै, त्यस तर्फ अग्रसर हुन व्यवसायीलाई आग्रह गरे । बेगनास, रुपा जस्ता महत्वपूर्ण ताल र सुन्दर डाँडा काँडालाई प्रवद्र्धन गर्न समेत कोइरालाले व्यवसायीहरुलाई आग्रह गरे ।

संघका अध्यक्ष एवं लेखनाथ महोत्सव मुल आयोजक समितिका संयोजक लक्ष्मी प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्मा, पोखरा उद्योग बाणिज्य द्धितिय उपाध्यक्ष मिनराज काफ्ले, मुख्य प्रायोजक रुपाकोट रिर्सोटका संचालक पुष्पराज अधिकारी लगायले महोत्सवले शिथिल अर्थतन्त्रलाई चलायामान बनाउन सफल भएको उल्लेख गरेका थिए । कार्यक्रममा द्धितिय उपाध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद तथा महासचिव छत्रधर आत्रेले संचालन गरेका थिए ।

फागुन ५ गते देखी संचालन भएको महोत्सव १२ दिनसम्म चलेको थियो । महोत्सवमा विभिन्न बस्तु तथा सेवाहरुका ३ सय भन्दा बढी स्टलहरु राखिएका थिए । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय प्रशासक कोइरालाले विभिन्न विधाका विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

महोत्सवमा उत्कृष्ट अटो स्टलमा एल आई मोटर पार्टस र अटो भेन्चर प्रा.लि भएका छन् । यसैगरी कृर्षि स्टल तर्फ बेगनास मौरी घार उद्योग प्रथम, प्रतिज्ञा सहकारी संस्था द्धितिय, सन्सा एग्रो फर्म तृतिय र चक्रदेवी ताजा तरकारी उत्पादक कृषि समूह सान्तवना भएका छन् ।

कमेन्टहरु
Loading...