लेकसाइडमा घैयाबारी कि रेस्टुरेन्ट र बार ?

सुमन ढुंगाना
सुमन ढुंगाना

सुमन ढुंगाना / पोखरा

२० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरु हुन ४ महिनामात्र बाँकी छ । यता गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ आठौं महिनामा चलिरहेको छ ।

केन्द्र र प्रदेश सरकारले आफ्नो घोषणा पूरा गर्न के के गरे, के के गरिरहेका छन् र के के गर्दैछन् त्यतातर्फ नजाऊँ । पोखरा आफै पर्यटकीय गन्तव्य भएकाले पनि यहाँका व्यवसायी, स्थानीयहरु पर्यटनमैत्री छन् र पर्यटकीय गतिविधिमा उनीहरुको सोह्रैआना समर्थन छ भन्ने अधिकांशको सोचाइ हुनु गलत हैन ।

तर गलत के छ भने त्यो सोचाइभन्दा धेरै बेग्लै देखिएका छन् लेकसाइडका होटल व्यवसायी र केही स्थानीय । जसको पछिल्लो उदाहरण हो यही साउन १० गते गण्डकी प्रदेश र मुख्यमन्त्रीको कार्यालयलाई विपक्षी बनाई सम्मानित उच्च अदालत पोखरामा दायर गरिएको रिट ।

लेकसाइड मात्र हैन पोखरा, पोखरा आसपासका क्षेत्र र सिंगो गण्डकी प्रदेशको मुख्य आम्दानीको स्रोत हो पर्यटन । पर्यटन भनेको होटलमात्र हैन यसभित्र रेस्टुरेन्ट, बार, क्लब, लगायत अन्य सबै गतिविधि पर्छन् ।

तर पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराका पदाधिकारीले हस्तक्षर गरेको त्यो रिट र त्यसमा लेखिएका हरेक शब्दले पर्यटनको परिभाषालाई कुण्ठित परेकोमा अधिकांशको दुईमत नहोला । फेवातालनजिको खेत, मच्छरको बासस्थान र औलो लाग्छ भनेर सबैले हेपेको ठाउँ अहिले पर्यटनकै कारण लेकसाइड भएको हो ।

२५ हजार पर्यटक प्रत्येक दिन व्यवस्थापन गर्न सक्ने क्षमता छ लेकसाइडसँग । तिनै पर्यटकका लागि सञ्चालन गरिएका व्यवसायका कारण त्यहाँका स्थानीय घरभाडा खाएर आरामले बस्न पाउने भएका छन् ।

पोखरालाई पर्यटकीय राजधानी भनेर गर्व गर्दै छाती फुलाउँदै र पोखराको पनि पर्यटकीय केन्द्र लेकसाइड हो भन्नेहरु किन यो हदसम्म पुगे ? यो सिंगो पोखरा र पर्यटनको लागि दुखद कुरा हो । होटलबाहेकका प्राय सबै व्यवसाय ९ बजे नै बन्द गर्नुपर्छ भन्ने यो सोच कसरी पर्यटनमैत्री सोच हुन सक्छ ?

लेकसाइडलाई चौबीसै घन्टा खुला राख्नुपर्छ भन्ने बहस चलेको बेलामा यस्तो नमिठो विचार कताबाट आयो वा ल्याउन लगाइयो यो विषयमा पर्यटनको हितमा लाग्नेले गम्भीर भएर सोच्ने र त्यसको प्रतिवाद गर्ने बेला आएको छ । उच्च अदालत पोखरामा हालिएको त्यो रिटले थुप्रै प्रश्न उब्जाएको छ ।

बेला बेलामा यस्ता सोच र विचार कहाँबाट कसले निकाल्छ ? यस्तै हुने हो भने अब रातमा पोखरा आउने पर्यटक भोकै होटलमा गएर सुत्नुपर्ने हो ? लगानीकर्ताले महँगो ब्याज तिरेर धानेको रेस्टुरेन्ट, बार लगायतको अन्य व्यापार किन भर्सेला परोस् भन्न खोजिँदैछ ?

के पर्यटन वर्ष २०२० को तयारी यसरी नै गर्ने हो त ? तपाईंहरुले विदेश गएर देखेको र सिकेको पर्यटन यस्तै हो त ? प्रश्न बेग्रल्ती छन् र आउँछन् । हो केही व्यापारीले मापदण्ड नमानेका होलान्, त्यसको खोजी हुनै पर्छ । तर त्यस्ताको नाम तोकेर भन्न कोही मुद्दा हाल्न तयार छैन ? किन सबैलाई एकै नजरले हेरिन्छ ? किन सबैलाई एकै डालोमा हाल्न खोजिन्छ ?

पर्यटकहरु पोखरा र लेकसाइड आएर बाहिरी रुप देख्दा मनमगन भएर फर्किन्छन् । तर लेकसाइडमा व्यवसाय गर्नेको भित्री पीडा कसले बुझ्ने ? स्थानीय आमा समूहदेखि फरकफरक व्यवसायका फरक फरक संघ संस्था छन् । सबैको बाहिरी उद्देश्य देखिन्छ पोखराको पर्यटनमा सबै एक छौं । तर सम्झाँझै व्यवसाय बन्द गर्ने हो कसरी होला पर्यटनको विकास ?

केही वर्षमा अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ, पोखरा विश्व बजारमा सिधै जोडिने छ । त्यो अनुरुप विकासका संरचना निर्माण गर्नुपर्ने छ । रातबिरात एयरपोर्ट झर्ने पर्यटकलाई गाडीमा ओसार्नै पर्नेछ । रेस्टुरेन्टमा खाना खुवाउनै पर्नेछ । कि हैन पोखरामा हामी राति खानेबस्ने सुविधा दिँदैनौं, एयरपोर्टबाट गाडीमा पनि ओसार्दैनौं, नआऊ भन्ने ?

कुनै व्यवसाय गैरकानुनी छ भने हदैसम्मको कारबाही गर्नैपर्छ । यसमा कसैको दुईमत छैन । तर व्यवसाय नै राति खोल्नु हुँदैन भन्ने माग र विचारसँग सहमत हुन सकिन्न । मर्या्दित ढंगले कानुनको परिधिभित्र रहेर व्यवसाय हुनुपर्छ ।

राज्यले सुरक्षाको प्रबन्ध गर्नुपर्छ । व्यवसायीले व्यवसाय गर्न पाउनुपर्छ । होइन लेकसाइडमा घैया रोप्नुपर्छ, रेस्टुरेन्ट र बार चलाउनु हुँदैन भन्ने हो भने हामीले पर्यटकलाई नेपाल नआऊ भनेकै जाती । पोखरा नआऊ भनेकै जाती । भ्रमण वर्षको तयारी आजै रोकेको जाती ।

प्रदेश सरकारको आंकडा हेर्ने हो भने यो वर्ष मात्रै करिब ३ लाख पर्यटकले पोखरा भ्रमण गरिसकेका छन । त्यो संख्या बढ्ने छ । विश्व पर्यटन बजारमा हामी पोखरालाई स्थापित गर्ने लक्ष राखेका छौं ।

कमेन्टहरु
Loading...