भारी मात्रामा बढ्यो गण्डकी प्रदेशका प्रयोगशालाहरुमा परिक्षण शुल्क ! (हेर्नोस् नयाँ शुल्क )

कृष्ण आचार्य, पोखरा, ५ जेठ /गण्डकी प्रदेशका प्रयोगशालाहरुमा परिक्षण शुल्क बढाईएको छ । मेडिकल ल्यावोरेटरी एसोसियसन अफ नेपाल (मेलान) गण्डकी प्रदेशको गत बैशाख १४ गते बसेको बैठकले गण्डकी प्रदेशका सबै प्याथोलोजीहरुमा परिक्षण सेवा शुल्क समायोजन गर्ने निर्णय गरेसंगै प्रयोगशालाको परिक्षण शुल्क भारी मात्रामा बढाईएको हो ।

मेलानले गण्डकी प्रदेशका सबै प्रयोगशालाहरुलाई समायोजन भएको शुल्क जेठ १ गते देखि लागु गर्न परिपत्र समेत गरि सकेका छ ।शुल्क समायोजन पछि रगत, दिसा, पिसाब लगायत प्याथोलोजीका परिक्षणहरुमा सत प्रतिशत सम्म शुल्क बृद्धि भएको छ ।

समायोजन भएको शुल्क जेठ १ गते देखि नै लागु गर्न मेलानले गण्डकी प्रदेशका सबै प्याथोलोजीहरुमा परिपत्र जारी गरेको भए पनि अधिकाशं संस्थाहरुमा बोर्ड बैठकले समेत निर्णय गर्नु पर्ने नियमका कारण लागु भएको छैन् । तर पोखराका चर्चित मानिने युआरएल,एनआरएल र मेट्रो सिटी हस्पिटलले समायोजन सगै बढेको शुल्क लागु गराईसकेका छन् । अरु हस्पिटलका ल्याबहरुमा भने संस्थाले नै निर्णय गरेपछि मात्र शुल्क बढाउन मिल्ने भएकोले संस्थालाई दवाब दिन ल्याब संचालकहरुले सुरु गरेका छन् ।

मेलानले परिपत्र गरेको सर्कुलरमा गुणस्तरिय, जनपक्षिय, ब्यवस्थित तथा मर्यादित पेशा अबलम्वन गर्दै प्रयोगशाला सेवा शुल्क समायोजन सम्बन्धि सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखरा महानगर स्वास्थ्य महाशाखा, उपभोक्ता हित संरक्षण मञ्च लगायत प्रयोगशाला बिज्ञ र प्रयोगशालाकर्मी ब्यवसायीहरु बिच बहस र छलफल गरि उक्त नयाँ बैज्ञानिक शुल्क समायोजन गरिएको दाबी गरिएको छ ।

कुन कुन संस्थामा के छ अवस्था !

पोखराको चर्चित मानिने प्याथोलोजी प्रदायक संस्था युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले समायोजन भएको नयाँ शुल्क लागु गराई सकेको छ । युआरएलका प्रबन्ध निर्देशक ठाकुर पन्तले आफुहरुको संस्थामा मेलानले सर्कुलर गरे अनुसार नै शुल्क समायोजन भईसकेको बताए । “हाम्रोमा उपकरण अत्याधुनिक छन त्यसै कारण पनि अहिले समायोजन पछि बढेको शुल्क पहिल्यै नै कायम थियो केहिमा भने थोरै मात्र बढेको छ” पन्तले भने । उनका अनुसार युआरएलमा अहिले समायोजन भएको शुल्क ५ बर्ष पहिले नै लागु भएको थियो ।

सबै ल्याब प्रदायक संस्थाहरुमा अहिले समायोजन भएको शुल्क लागु हुन उपयुक्त नभएको भन्दै उनले प्याथोलोजीहरुलाई बर्गिकरण गरेर शुल्क समायोजन गर्दा उपयुक्त हुने बताए । करोडौका उपकरणले गरेको परिक्षण र सस्तो मुल्यका उपकरणले गरेको परिक्षणको शुल्क एउटै बनाउनु व्यवाहारिक नहुने उनको तर्क छ ।

यता पोखराको सृजना चोकमा रहेको मेट्रो सिटी अस्पतालले पनि समायोजन पछिको शुल्क लागु गराई सकेको छ । संचालक अनुपम मिश्रले मेट्रो सिटी अस्पतालले समायोजन पछिको शुल्क लागु गराई सकेको जानकारी दिए ।यसैगरी पोखराको न्युरोडमा रहेको प्याथोलोजी प्रदायक संस्था एनआरएलले पनि समायोजन पछिको शुल्क लागु गराई सकेको कर्मचारी निरु श्रेष्ठले बताईन् ।

पोखराको नयाँ बजारमा रहेको गण्डकी मेडिकल कलेज, न्युरोडमा रहेको पद्म नर्सिङ होम, गैह्रापटनमा रहेको फिस्टेल अस्पताल, नागढुङ्गामा रहेको फेवासिटी अस्पताल, जिरोकिलोमिटरमा रहेको रिजनल अस्पताल लगायतमा रहेका ल्याबहरुले संस्थाको बोर्ड बैठकको निर्णय कुरेर बसेका छन् ।उक्त अस्पतालहरुमा अहिले सम्म समायोजन पछिको शुल्क लागु भएको छैन ।

गण्डकी मेडीकल कलेज प्याथोलोजी बिभागका ईन्चार्ज महेश बञ्जराले आफुहरुको ल्याब सस्था कै ल्याब भएकोले संस्थाले गर्ने निर्णय मात्रै अन्तिम हुने भन्दै अहिले सम्म समायोजन भएको शुल्क लागु नभएको जानकारी दिए ।

पद्म नर्सिङ होमका ल्याब संचालक जगत बहादुर खड्काले आफुहरुले उक्त समायोजन पछिको शुल्क संस्थाको संचालक समितिको बैठकबाट अनुमोदन भएपछि लागु गर्ने बताए । यद्यपी खड्का नै प्रयोगशाला सेवा शुल्क समायोजन समिति गण्डकी प्रदेशका संयोजक रहेकोले पद्म नर्सिङ होम समायोजन पछिको शुल्क लागु गर्न दवाबमा पर्ने देखिन्छ ।

फिस्टेल अस्पतालका ल्याब बिभाग इन्चार्ज सरोज वाग्ले, फेवासिटी अस्पतालका ल्याब संचालक चेत बहादुर गुरुङ, रिजनल अस्पतालका म्यानेजर अर्जुन शर्मा लगायतले आफुहरुको अस्पतालमा अहिले सम्म समायोजन पछिको शुल्क लागु नभएको भन्दै संचालक समितिले गर्ने निर्णय पछि मात्रै थप कुरा भन्न सकिने बताए ।

पोखराको नयाँ बजारमा रहेको चरक मेमोरियल अस्पतालका संचालक समिति सदस्य डाक्टर प्रबिण बानियाँले अहिले सम्म आफुहरुको अस्पतालको संचालक समितिमा उक्त परिपत्र आई नपुगेको जानकारी दिए । परिपत्र आए पनि संस्थाले गर्ने निर्णय नै अन्तिम हुने भएकोले परिपत्रलाई मात्रै आधार मानेर शुल्क समायोजन हुन नसक्ने उनको भनाई थियो ।

समायोजन पछिको सेवा शुल्क लागु भएका संस्थाहरुमा एउटै परिक्षणमा ३–४ सय सम्म शुल्क बढेको छ ।बिज्ञहरुको राय, सुझाब र सल्लाहमा बैज्ञानिक तबरबाट सरकारकै संयन्त्रको सहमतिमा शुल्क समायोजन गरेको दाबी मेलानले गरे पनि संमायोजन सगै भारी मात्रामा बढेको परिक्षण शुल्कका कारण सर्वसाधारण जनता मारमा पर्ने निश्चित छ ।

समायोजन पछिको नयाँ शुल्क र मेडिकल ल्यावोरेटरी एसोसियसन अफ नेपाल (मेलान) गण्डकी प्रदेशको सर्कुलर यस्तो छ

बढ्यो गण्डकी प्रदेशका प्रयोगशालाहरुमा परिक्षण शुल्क
कमेन्टहरु
Loading...