असोज पहिलो साता पोखरामा नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता हुने

पोखरा, २७ भदौ/ १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) आगामी मंसिर १५ देखि हुदैै छ । त्यसैको पुर्व सन्ध्यामा आगामी असोजको पहिलो साता पोखरामा नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिने छ ।

नेपाल कुस्ती संघका अध्यक्ष एवं दक्षिण एशियाली कुस्ती संघका उपाध्यक्ष समेत रहेका राज मोहम्मद अन्सारी पोखरा भ्रमणको क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले साग तयारीको लागि पोखरामै मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिने बताए ।

‘असोजको पहिलो साता मैत्रीपूर्ण कुस्ती प्रतियोगिता गर्ने योजना छ ।’ उनले भने–‘त्यसैको लागि पोखरा भ्रमणमा आएका हौं ।’ उनीसँगै भारतीय कुस्ती संघका अध्यक्ष एवं एशिया कुस्ती संघका उपाध्यक्ष बज्रभूषण शरण सिंह सहितको टोली पोखरा आईपुगेको छ । भारतीय टोलीमा सिंह सहित, भारतीय कुस्ती संघका सचिव विनोद तमोर, सिक्किमका लोक सभा सदस्य अमिय भूषण, नेपाल भारत मैत्री संघका अध्यक्ष राजकुमार सिंघी लगायतको सदस्य छन् ।

उनीहरुलाई राष्ट्रिय खेलुकद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । स्वागतपछि टोलीले पोखरा रंगशालामा निर्माणाधिन फुटबल मैदानसहित अन्य भौतिक पुर्वाधारको प्रत्यक्ष अवलोकन गरे । अध्यक्ष अन्सारीले सागको लागि नेपालको तयारी राम्रो रहेको उल्लेख गर्दै समयमै साग हुनेमा आफु विश्वस्त रहेको र खेलाडीहरु पनि विश्वस्त रहेको दावी गरे ।

असोजमा हुने मैत्रीपूर्ण कुस्तीमा महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा गराईने छ । सागको तयारीको लागि यतिबेला खेलाडीहरु नियमित प्रशिक्षणमा व्यस्त छन् । सागकै तयारीको लागि भारतीय खेलाडीसँगको प्रतिस्पर्धाले मनोबल उच्च हुने विश्वास नेपाल कुस्ती संघले गरेको छ ।

भ्रमणकै क्रममा भारतीय कुस्ती संघका अध्यक्ष बज्रभूषण शरण सिंहले कुस्ती विशेष गरी सामान्य परिवारका युवापुस्ताले खेल्ने स्पष्ट पारे । ‘यो खेल सामान्य परिवारका युवा युवतीले खेल्छन् ।’ उनको भनाई थियो । अध्यक्ष सिंहले नेपालीहरुको हात र खुट्टा बलियो हुने भन्दै नियमित प्रशिक्षण गर्न सके पदकको आशा गर्न सकिनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

उनले नेपाली कुस्ती खेलाडीलाई भारतीय कुस्ती संघले प्रशिक्षण दिने प्रतिबद्धता व्यक्त गरे । ‘कुस्ती खेलाडीलाई भारतमा प्रशिक्षण गर्न पठाउनुहोस । हामी निशुल्क प्रशिक्षण दिने छौं । यो प्रतिबद्धता हो ।’ उनले भने–‘५/७ महिना नियमित प्रशिक्षण गरे एशियामै पदक जित्ने सम्भावना रहन्छ ।’ उनले दक्षिण एशियालीमा मात्रै नभई विश्वकै कुस्ती एरिनामा बलियो उपस्थिति हुने गरी प्रशिक्षण गराइने दावी गरे ।

नेपालमा कुस्ती अधिकांश तराई क्षेत्रमा बढी हुने गरेको छ । पहाडी क्षेत्रमा कुस्तीको प्रभाव भने केही कम छ । यद्यपी पोखरामा आगामी असोजको पहिलो साता आयोजना गरिने मैत्रीपूर्ण कुस्ती प्रतियोगिताले खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान हुने विश्वास र अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भारतीय टोलीले पोखरा रंगशालाको भौतिक पुर्वाधार निरीक्षण गरेर फर्किएको बताए । उनले सागको तयारी सम्बन्धी र पूर्वाधारको विषयमा समेत जानकारी गराइएको स्पष्ट पारे ।

कमेन्टहरु
Loading...