यातायात व्यवसायी अधिकारीले बाढी पीडित बच्चालाई पालनपोषण गर्ने

पोखरा, २ भदौ /विभिन्न व्यावसाय सञ्चालन गर्दै आइरहेको जगदम्बा प्रतिष्ठान पोखराका अध्यक्ष केशवप्रसाद अधिकारीले बाढी पहिरोबाट बाबु आमा गुमाएका अनाथ बच्चालाई आफ्नै सन्तान सरह पालनपोषण बताएका छन् । प्रशासन कार्यालयसँग समन्वय गरी एक जना बच्चाको अभिभावकीय जिम्मेवारी आफूले बहन गर्ने अधिकारीले बताए ।

साउन अन्तिम साता नेपालमा गएको बाढी पहिरोबाट धेरै बालबालिका बेसहारा भएसँगै एउटा बच्चाको पालनपोषण, शिक्षा लगायत सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको उनले जानकारी दिए । ‘एउटा बच्चालाई मैले आफ्नै सन्तान सरह पाल्नेछु,’ उनले भने, ‘एउटा बच्चाको जिम्मेवारी लिएर उसलाई सक्षम नेपाली नागरिक बनाउने मेरो लक्ष्य हो ।’

पछिल्लो समय भएको प्राकृतिक प्रकोपबाट अनाथ बनेका एक जना बच्चा छनोटका लागि पहल गरिदिन उनले सञ्चारमाध्यम र प्रशासनसमक्ष आग्रह गरेका छन् । ‘जिल्ला प्रशासनमा औपचारिक पत्र लिएर जाँदैछु,’ उनले भने, ‘बास्तबिक पीडित तथा अनाथ एउटा बच्चा छनोटमा सहयोग मिल्ने विश्वास लिएको छु ।’ तत्कालका लागि राहतसँगै दीर्घकालीन रुपमा राज्यलाई सहयोग पु¥याउने लक्ष्य रहेको उनले बताए । आफुले एउटा बच्चालाई पालनपोषण गरे जस्तै संगसंस्था सगँ पनि समन्वय गर्ने बताए ।

कमेन्टहरु
Loading...