काहूँवासीको गुनासोः लेकसाईडले सराङकोट देख्यो काहूँडाडाँ देखेन

पोखरा, २० मंसिर /‘विदेशी तथा स्वादेशी पर्यटक पोखरा घुम्न आउँछन् । लेकसाईडका होटलमा बस्छन् । ब्यवसायीले विहान गाडी चढाएर सराङकोट पु¥याउँछन् । २–४ घण्टा डुलाईवरी खाना खुवाएर फर्काइदिन्छन् । पोखराको पर्यटन भनेको लेकसाईड र सराङकोटमा सीमित छ ।’, ‘निहुरिएर हेर्दा ताल नदेखिएपनि सराङकोट भन्दा कम छैन काहूँडाडाँ । तर पर्यटन ब्यवसायीले काहूँडाँडामा पर्यटक लैजानै चाहदैनन् ।’ लेकसाईडका ब्यापारीसँग काहूँबासीको छुट्टै दुखेसो छ ।

‘काहूँ जाने भनेर कोही मान्छे ट्याक्सी चढ्यो भने काहूँखोला लगेर झारिदिन्छ । ट्याक्सीवालालाई काहूँडाँडाबारे थाहा छैन, पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला भन्छन्–कसैलाई लालीगुराँस हेर्न मन लाग्यो भने काँडे पु¥याउँछन् तर १५ मिनेटको बाटोमा लालीगुराँस फुल्छ भन्ने कसैलाई थाहा छैन ।’ सरकार र पर्यटन ब्यवसायीले उपेक्षा गरेकै कारण काहूँडाँडा पर्यटकीय क्षेत्र बन्न नसकेको उनको गुनासो छ ।

‘लेकसाईडका ब्रोसर हेर्दा महेन्द्रगुफा, पातले छाँगो, सराङकोट, फेवाताल छ तर काहूँडाँडा किन छैन ? ६ वटा जिल्ला डाँडाबाट सजिलै हेर्न सकिन्छ । हिमश्रृखला हेर्ने यो भन्दा उत्तम ठाउँ नै छैन, बास्तोलाले थपे–यति राम्रो ठाउँलाई पर्यटन ब्यवसायीले उपेक्षा गरेका छन् ।’ स्थानीय अगुवा दीपकप्रकाश आचार्यले चाहीँ काहूँकोटले लेकसाईडको सिण्डिकेट तोड्ने बताए ।

‘होटल बनाउछौं, होमस्टे बनाउने तयारी भैरहेको छ । दृष्यावलोकनका लागि यो भन्दा उत्तम ठाउँ छँदै छैन । हामी कोही भन्दा कमजोर छैनौं, आचार्यले भने–काहूँकोटलाई परिचित पर्यटकीय क्षेत्रको रुपमा स्थापित गरेरै छाड्छौं । अव लेकसाईड र सराङकोटको सिण्डिकेट काहुँडाँडाले तोड्छ ।’ पर्यटन विकासका लागि कोटमा रहेको धरहराको स्तरोन्नती गर्न लागिएको छ । ८ करोड ४० लाख रुपैयाँको डिपिआर बनाएर प्रदेश पर्यटन मन्त्रालयमा पेश गरिएको वडाध्यक्ष मोहन बास्तोलाले जानकारी दिए ।

काहूँडाँडाको प्रबद्र्धन गर्नकै लागि जनकल्याण क्लव र फूलबारी क्लवको आयोजनामा अर्को सातादेखि महोत्सव हुँदैछ । पर्यटकलाई बोलाएर स्थानीयको आर्थिक स्थितीमा सुधार ल्याउन महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । २०६२ र २०६५ पछि तेश्रो संस्करणको महोत्सव मंसिर २८ देखि काहूँ धरहराको प्रांगणमा हुँदैछ । ‘पैसा कमाउनका लागि महोत्सव गर्न लागेको होइन ।

यो ठाउँको प्रचार गरेर पर्यटक भित्र्याउने लक्ष्य छ, महोत्सवका सहसंयोजक कुमार क्षेत्रीले भने–साउण्ड सिस्टम जडान हुँदैछ । झिलिमिली बत्ति हालेर यसपाली काहूडाँडाबाट पोखरालाई चकित पार्छौं ।’ महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । करिब ५ सय परिवारलाई पारिवारिक पास र २ हजार हाराहारीमा टिकट विक्रि गरिसकेको क्षेत्रीले जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादनको विक्री र सांगितिक जमघट हुने उनी बताउँछन् ।

महोत्सवमा विभिन्न प्रयोजनका ८० वटा स्टल रहनेछन् भने अधिकांश स्टल बुकिङ भैसकेको प्रचारप्रसार संयोजक दामु आचार्यले बताए । महोत्सव प्रवेशका लागि ७० रुपैयाँको टिकट ब्यवस्था गरिएको छ भने सोही टिकटबाट धरहरा चढ्ने ब्यवस्था मिलाईएको आचार्यले जानकारी दिए । उनका अनुसार महोत्सवबाट ६० लाख आम्दानी हुने अनुमान छ । आम्दानीमध्ये ४३ लाख खर्च हुनेछ भने बचत रकम पूर्वाधार निर्माण र कोट ब्यवस्थापनमा लगानी हुनेछ । १० दिनसम्म चल्ने मेला अवधिभर ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । मेलालाई एनएमवि बैंकले प्रायोजन गरेको छ ।

महोत्सवमा आउने पाहुनालाई खान र बस्ने ब्यवस्था होम स्टेमा हुनेछ । रानीपौवाबाट ८ किलोमिटर दुरिमा रहेको काहुँडाँडामा महोत्सव अवधिभर जुनसुकै बेला पनि मोटर आउजाउको ब्यवस्था मिलाईएको महोत्सवका संयोजक देवबहादुर गुरुङले बताए । ‘पहिले बाटो राम्रो थिएन । मोटरसाईकल पनि धकेलेर ल्याउनुपथ्र्यो । त्यसैले २०६५ पछि हामीले महोत्सव गर्नै छा्डयौं, उनले भने–अहिले पक्की बाटो बनेको छ । आउजाउ गर्न कुनै समस्या छैन । डाँडामा पुगेर बास बस्ने चिन्ता पनि गर्नुपर्दैन । हामीले सबै ब्यवस्थापन मिलाएका छौं ।’

#काहूँ धरहरा महोत्सव

काहूँ धरहरा महोत्सव

Posted by Ganthan.com on Thursday, December 6, 2018

कमेन्टहरु
Loading...