कास्कीकोट दरबार र गुप्तकालिका मन्दिर पुर्ननिर्माण गरिदैं

पोखरा, ७ असोज / फेवातालको शिरानको उत्तरमा छ शाहवंशीय दरबार । शाहबंशीय उदगम थलोको रुपमा परिचित ऐतिहासिक कास्कीकोट दरबार भग्नावशेषबाट उठने कोशिसमा छ । उठाउने कोशिस पुरातत्व विभागले गरिरहेको छ । शाहबंशीय दरबार तथा शाहबंशले पुजाआजा गर्ने गुप्तकालिका मन्दिरलाई संरक्षण गर्ने ध्येयले विभागले पुर्ननिर्माण अभियान थालेको हो ।

पुरानो दरबार जीर्ण बन्दै गएको थियो । जीर्ण दरबारलाई २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले छियाछिया बनाईदियो । ऐतिहासिकस्थललाई संरक्षण गर्दै पुरानै शैलीमा निर्माण गर्न विभागले दुईकरोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट ऐतिहासिकता फर्काउने र झल्काउने गरी पुर्न निर्माण शुरु गरिएको विभागका इन्जिनियर नविन पाण्डेले बताए ।

१५ महिनाभित्र सक्ने लक्ष्य छ । गत भदौ २४ गतेदेखि काम शुरु गरिएको हो । भक्तपुरको ठेकेदार कम्पनीले काम गरेको हो । वर्षेनी दशैंको नवदुर्गामा कास्कीकोटको गुप्तकालिका मन्दिरमा नवदुर्गा पुजा हुदैं आएको छ । कम्पनीले कोटको कालीको पुजा गरेर काम शुरु गरेको थियो । क्षमापुजा गरेर कोट स्थानान्तरण गरी काम गरिएको छ । नवदुर्गा पुजा अर्को ठाँउमा व्यवस्थापन गर्ने गरी काम गरिएको छ ।

सिमेन्टको प्रयोग गरिएको छैन् । दरबारको पुर्ननिर्माण गर्न चुना, सुर्कीको प्रयोग गरिएको उनको भनाई थियो । ‘दरबार शिखरी र पेगोडा शैलीमा निर्माण शुरु गरिएको छ ।’ गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलिपविक्रम शाहीले भने–‘पुर्ननिर्माणपछि कास्कीकोट दरबार ऐतिहासिक एवं धार्मिक पर्यटनको गन्तव्य बन्नेमा विश्वास छ ।’ पुरातात्व विभागले गतवर्ष नै १५ लाख बजेटमा दरबार भन्दा तल ढुंगा छाप्ने गरिसकेको छ ।

पोखरा महानगपालिका वडा नं २४ कास्कीकोटले गुप्तकालिका मन्दिर पुनःनिर्माण, कश्यपधाम बृहत गुरुयोजना अन्तर्गतका पर्यटकीय पदमार्ग कश्यपधाममा दृश्यावलोकन टावर निर्माण, सराङकोटदेखि कास्कीकोट देउरालीसम्मको साइकल रेन्ज, देउराली देखि नागडाँडासम्म अपाङ्ग ह्वील चियर पदमार्ग पूरा गर्ने, रक क्लाइम्बिङको शुरुवात गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ ।

महानगरपालिकाले कास्कीकोटलाई लक्षित गर्दै ७४ किलोमिटर दुरीको पदयात्रा मार्गको खाका कोर्दै बजेट विनियोजन गरेको छ । ‘महानगरपालिकाले यसै आर्थिक वर्षमा ६० लाख रुपैयाँ र संघीय सरकारबाट ४५ रुपैयाँ छुट्टाएको छ ।’ वडाध्यक्ष ओमप्रसाद सुवेदीले भने–‘पोखरा जरेबरदेखि सराङकोट, कास्कीकोटबाट पन्चासे हुदैं विश्वशान्ति स्तुपसम्म ७४ किमीको दुरी पदमार्ग निर्माण गरिने छ ।’

वडाले पर्यटनकार्यालयले उपलब्ध गराएको १५ लाख रुपैयाँ देउरालीदेखि भुमेको थानसम्म रेलिङ राखिएको छ । जरेबरदेखि सराङकोटसम्म भिरालो जमिन भएकोले सिंढी निर्माण गरिएको छ । सराङकोटदेखि कास्कीकोटसम्म साईकल ट्रयाक निर्माण गरिएको छ । देउरालीदेखि नागडाडाँसम्म अपांग मैत्री मार्ग बनाईएको छ । नागडाडादेखि पन्चासेसम्म पोनी ट्रयाकको लक्ष्य हो । पन्चासेदेखि शान्तिस्तुपासम्म पदयात्रा मार्गको रुपमा विकास गर्ने योजना छ ।

सराङकोटदेखि कास्कीकोटसम्म अहिले साईकल ट्रयाक निर्माण गरिएको छ । उनका अनुसार अहिले ६.५ किलोमिरटको दुरी साईकल ट्रयाकको लागि बनाइएको छ । साईकल ट्रयाकको लागि सराङकोट माईकोखोरदेखि प्याराग्लाईडिङ डाडाँहुदैं १८८६ मिटरको उचाईको कश्यप धाम, कोट हुदैं देउरालीसम्मको लागि छुट्टाइएको छ ।

ट्रयाक खोल्न वडाले ११ लाख रुपैयाँ छुट्टाइको थियो । महानगरपालिकाले यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्टाइको उनले बताए । ‘एउटै मार्गमा फरक स्वाद पाउने शैलीमा विकास गरिएको छ । पर्यटन प्रवद्र्धनसँगै लागि ३ दिन ४ रातको पदयात्रा गर्न सकिन्छ ।’ वडाध्यक्षसुवेदीले भने–‘५ देखि ८ फिट चौडाईको फराकिलो बनाईएको छ ।’ ‘छुट्टाईएको बजेटले मार्गलाई स्तरोन्नति गरिने छ ।’ उनको भनाई थियो ।

वडाले कास्कीकोटको कश्यप धाममा अन्तराष्ट्रियस्तरको ध्यान केन्द्र निर्माण गर्ने योजना छ । कश्यपको मूर्ति राख्ने योजना समेत छ । योजनाको लागि प्रस्ताव समेत आएको छ । वडाले नै बनाएको १० करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकिएको छ । वडाध्यक्ष सुवेदीले परियोजनालाई ओम शान्तिले कानूनी प्रक्रिया टुग्याए काम गर्ने प्रस्ताव गरेको उनको भनाई थियो ।

समुन्द्री सतहदेखि १८८७ मिटरको उचाइमा रहेको कश्यपधाम, कुलमण्डल पार्कमा प्राचिन संग्रहालय निर्माण, पामेदेखि कास्कीकोटसम्म केवुलकारको सम्भाव्यता अध्ययनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने वडाध्यक्ष सुवेदीले बताए । ‘ऐतिहासिक वडालाई पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा छौं ।’

गुप्तकालीका मन्दिरमा वर्षेनी दशैमा नवदुर्गा पुजा हुदैं आएको छ । यो वर्षपछि पुजा आयोजना गरिने छ । नव दुर्गामा सत्रौ शताब्दीका हात हतियारहरुको समेत प्रर्दशनी गरिने छ । कास्कीकोट गुप्तकालीका मन्दिरमा वर्षेनी हजारौ दर्शानार्थीहरुको भीड लाग्ने गर्दछ । त्यतिमात्रै नभई फुलपातीको समयमा हतियारसहितको सरुन खेल समेत प्रदर्शन गरिने छ ।

कमेन्टहरु
Loading...