कास्कीमा ठेकेदारको लापरबाहीले ८ करोड स्वाहा, मादी पुल बाढीले बगायो

पोखरा, ८ असार /कास्कीको ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्न ज्याम्दुस्थित मादीमा पक्की पुल बनाउन ४ बर्षअघि ठेक्का सम्झौता भयो ।

२०७२ सालमा १५ महिनाभित्रै सक्ने गरि मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पायो । ८ करोड ७ लाखमा ठेक्का सम्झौता गरिएको ८३ मिटर लामो पुल २०७४ असार मसान्त अघि नै सम्पन्न गर्नुपर्ने थियो ।

तर ठेकेदारले लामो समय काम थालेन । तोकिएको मितिमा पुल नबनेपछि २०७६ असार १५ गतेसम्मको लागि म्याद थपियो । दोश्रो पटकको पनि म्याद पनि त्यसै गुज्रियो । पछि जनप्रतिनिधिले ताकेता गरेर ठेकेदारले निर्माणको काम सुरु गरेको थियो । ढलानका लागि तयारी हुँदै गर्दा आईतबार निर्माणाधीन पुल बगायो ।

ठेकेदारको लापरबाहीकै कारण पुल बगाएको मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले बताए । ‘हिउँदभरी सुतेर बस्छन् । बर्खा लागेपछि बनाउन लागेजस्तो गरेर कहाँ हुन्छ,’ उनले भने, ‘पटक पटक ताकेता गरेपछि मात्रै बर्खा लाग्ने बेलामा काम थालेका हुन् । अहिले बगायो ।’

निर्माण कम्पनीका दिवस उप्रेतीले ५० प्रतिशतभन्दा बढी काम सकिएको बताए । ‘हामीले सोचेकै थिएनौं । एक्कासी पुल बगाएछ,’ उनले भने, ‘यो सिजनमा केही गर्न सकिँदैन । खोला पनि ठूलो छ । खोला घटेपछि अर्को सिजनबाट काम सुरु गरौंला ।’ सम्झौतामध्ये आधाभन्दा बढी रकम निकासा गैसकेको छ ।

कमेन्टहरु
Loading...