कास्कीमा बहुबर्षिय सडक योजनाको काम सुरु

सागर राज तिमिल्सिना
पोखरा, ९ वैशाख/कास्कीमा एक निर्वाचन क्षेत्र एक बहुबर्षिय योजनाको काम सुरु भएको छ । अघिल्लो वर्षदेखि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा बहुबर्षिय सडक योजना सञ्चालन भएका थिए । डिभिजन सडक कार्यालय पोखरा मार्फत जिल्लाका विभिन्न ४ वटा सडकलाई यो योजना मार्फत स्तरोन्नति गर्ने काम अगाडी बढेको छ ।

जस अन्तर्गत क्षेत्र नम्बर १ मा बेगनास–भोर्लेटार सडक योजना, क्षेत्र नम्बर २ मा फुलवारी मनिपाल–काहुँ धरहरा सडक, क्षेत्र नम्बर ३ मा चिसापानी–सिंगारेबास–टक्सार सडक र क्षेत्र नम्बर ४ मा पोखरा बागलुङ्ग बसपार्क–सराङ्गकोट–ढिकुरपोखरी सडक स्तरोन्नति गर्ने काम अगाडी बढेको कार्यालय प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

यी सडकहरुमा पहिलो पटक करिब २७ करोड रुपैयाँ खर्च गरिनेछ । योजनाहरु सञ्चालन भई रहेका छन्, उनले भने–अहिले करिब ३० प्रतिशत काम पुरा भई सकेको छ । छनौट भएका सडकमध्ये सबैभन्दा धेरै मनिपाल काहुँ सडकको १० किलोमिटर खण्डलाई ९ करोड ३२ लाख रुपैयाँ ठेक्का सम्झौता भएको छ । यो सकडको काम १५ प्रतिशत मात्रै पुरा भएको उनले जानकारी दिए । अहिले बाटो फराकिलो बनाउने र नाला बनाउने काम भई रहेको उनको भनाई थियो । यस्तै बाँकी रहेका सडकहरुमा ५÷५ करोड रुपैयाँ लगानी निर्माण भई रहेका छन् ।

स्तरोन्नति गर्न लागिएको बेगनास–भोर्लेटार सडकको ४ किलोमिटर, चिसापानी–टक्सार सडकको ३ किलोमिटर र बागलुङ्ग बसपार्क–ढिकुरपोखरी सडकको करिब १० किलोमिटर खण्डमा नाला बनाउने र गिटि छाप्ने काम हुने उनले बताए । सबै सडकहरु अहिले काम सञ्चालन भई रहेको छ । यी सडकहरुलाई जिल्लाको मूख्य सडकका रुपमा राखेर बर्षेनी स्तरोन्नति हुँदै आएपनि देखिने गरी काम हुन सकेको थिएन । बेगनास–भोर्लेटारको काम ३५ प्रतिशत सकिएको छ भने चिसापानी–टक्सारको काम ३० प्रतिशत सकिएको छ । त्यसै गरि बागलुङ्ग बसपार्क–ढिकुरपोखरी सडकको काम पनि ३० प्रतिशत सकिएको उनले जानकारी दिए ।

स्तरोन्नति त पहिले पनि हुँदै आएको छ, उनले भने–तर यति ठूलो रकम थिएन, अहिले रकम पनि राम्रो छ काम पनि राम्रै हुन्छ । सडक स्तरोन्नति हुने भएपछि साँघुरो र अप्ठ्यारो सडकको सामना गर्दै आएका यस क्षेत्रका स्थानीयहरुले राहत पाउने छन् । सडक स्तरोन्नतिको योजना संबिधानसभाको निर्वाचनमा जिल्लाबाट निर्वाचीत सभासदहरुको पहलमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयले स्विकृत गरेर जिल्लामा पठाएको हो ।

कमेन्टहरु
Loading...