पर्यटन व्यवसायी र राज्यबीच पुलको काम गर्छु – काशीराज भण्डारी

पोखरा, १ साउन /नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका नव नियुक्त प्रमुख काशीराज भण्डारीले यस प्रदेशको समग्र पर्यटन विकासका लागि राज्य र व्यवसायी बीच पुलको काम गर्ने बताउनु भएको छ ।

ट्रेकिङ एजेन्सि एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आयोजना गरेको विदाइ एवं स्वागत कार्यक्रममा प्रमुख भण्डारीले नेपालको पर्यटन विकासमा राज्य भन्दा एक कदम अगाडि व्यवसायी रहेको भन्दै व्यवसायी मैत्री नीति मार्फत राज्य अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले पर्यटन क्षेत्रका समयस्याको पहिचान गरी समाधानका लागि जिम्मेवार रुपले काम गरेर नेपाल भम्रण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्ने बताउनुभयो । पर्यटन क्षेत्रमा नयाँ भिजन को खाँचो औल्याउँदै परम्रागत सोचबाट माथि उठ्न जरुरी रहेको उहाँको भनाई थियो ।

नेपालको पर्यटन विशेष गरी विश्वमा पदयात्राबाट चिनिएको स्मरण गर्दै उहाँले नयाँ पदमार्गको खोजी र भइरहेका पदमार्गको संरक्षण जरुरी रहेको धारणा राख्नुभयो । पर्यटन बोर्ड गण्डकी प्रदेशमा आफ्नो एक वर्ष कार्यकाल सफल गरेर केन्द्रिय कार्यालयमा अनुसन्धान योजना तथा अनुगमन महाशाखाको प्रमुख जिम्मेवारी सम्हाल्न जान लाग्नु भएका निवर्तमान प्रमुख मणी लामिछानेले पोखरामा पर्यटन व्यवसायीको सक्रियता र सहयोगले आफ्नो कार्यकाल उपलब्धि मुलक र ऐतिहासिक रहेको स्मरण गर्नुभयो ।

आफु जहाँ रहे पनि यस क्षेत्रको विकासमा आफु सदा सहयोग गर्न तत्पर रहेको उहाँको भनाई थियो । टानका पुर्व अध्यक्ष सोम थापाले व्यवसायी र राज्य बीच मैत्रीपूर्ण सम्बन्ध हुन नसके पर्यटन क्षेत्रको विकास नहुने बताउनुभयो ।

टानका अध्यक्ष हरी भुजेलले टान र पर्यटन बोर्ड बीचको सहकार्यमा पर्यटन प्रवद्र्धन सम्बन्धि आन्तरिक र बाह्य रुपमा धेरै काम गर्न सफल भएको धारणा राख्नु भयो । विशेष गरी टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) व्यवस्थित गर्न पहल गरिएको उहाँको भनाई थियो । पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्र सधै सक्रिय रहेको र राज्यले अभिभावकीय जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।

भुजेलले अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत, बेसीसहर, धम्पुस, विरेठाँटी र तातोपानीमा टिम्स काउण्टर रहेको जानकारी दिनुभयो । पदयात्रा मार्ग अव्यवस्थित विकासका कारणले लोप हुँदै जाँदा अन्नपूर्ण सर्किटमा पदयात्रीको संख्या घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

टानका सचिव जीवनराज सापकोटाले टिम्स कार्डबाट उठेको रकमलाइ यहि क्षेत्रमा खर्च गरेर पदयात्रालाई व्यवस्थित बनाउनु पर्ने धारणा राख्नुभयो । संकलित रकम मध्ये ३० प्रतिशत बोर्ड ३० प्रतिशत टान र ३० प्रतिशत दुवै संस्थाले पर्यटन विकासमा लागि र बाँकी १० प्रतिशत कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।

कमेन्टहरु
Loading...