कमल थापालाई दोहोरो उपाधि

पोखरा, ८ असोज / नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले पोखराको टेनिस कोर्टमा बुधबार दोहोरो उपाधि जितेका छन् । उनले ५५ वर्ष माथिको उमेर समूहका एकल र युगलमो उपाधि उचाल्दै पोखरा बसाई अविस्मरणीय बनाएका हुन् ।

पहिलो सेटमा एउटा सर्भिस प्वाईन्ट र दोस्रो सेटमा दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै नेपाली राष्ट्रिय भेट्रान कमल थापाले भारतीय खेलाडीलाई सोझो सेटमै पराजित गर्दै उपाधि जितेका छन् । ५५ वर्षमाथिको उमेर समूहको उपाधि जित्ने क्रममा करियरकै उत्कृष्ठ लयमा रहेका थापाले भारतीय खेलाडी सन्जय कुमारलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाए ।

पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । दुवैले आफनो सर्भिस ब्रेक गर्दै प्वाईन्ट आफनो खातामा राखेका थिए । ४–४ को अवस्थामा रहदाँ थापाले सन्जयको पाँचौं अंकको सर्भिस प्वाइन्ट ब्रेक गरेपछि पहिलो सेट जित उन्मुख बने । दोस्रो सेटमा भने थापाले पहिलो सेटको जस्तो कडा मेहनत भने गर्नुपरेन् । २–२ को अवस्थाबाट अगाडि बढेको खेलमा थापाले आफनो सर्भिसमा प्वाईन्ट होल्ड गर्दा कुमारको सर्भिस ब्रेक गर्दै जित सुनिश्चित बनाए ।

५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फ पनि कमल थापाको जोडीले उपाधि उचाल्यो । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुश्लिमको जोडीलाई पराजित गर्न सुपरटाई कुर्नुपर्यो । पहिलो सेट थापाको जोडले ६–२ ले लिदाँ दोस्रो सेट भने उस्तै नजितामा सुम्पिएपछि खेल सुपरटाईमा पुगेको थियो । सुपर टाई समेत निकै प्रतिस्पर्धा रह्यो । थापाको जोडीले ११–९ ले लिदैं उपाधि पक्का बनायो ।

एनआईसी एशिया बैंक नेपाल आईटिफ विश्व बरियता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने गोपी भट्टराई र शरन गुरुङको जोडीलाई धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गर्दै उपाधि जितेका हुन् ।

एनआईसी एशिया बैंकको मुख्य प्रायोजन तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित एनआईसी एशिया बैंक नेपाल आईटिफ विश्व बरियता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपमा ३५ वर्षमाथिको उमेर समूहमा१० जना मात्रैले प्रतिस्पर्धा गरेका थिए । ४५ वर्षमाथिको उमेर समूहमा २२ जनाको भिडन्त थियो ।

५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा भने २० जनाले बरियता प्राप्त गर्ने अंकको लागि प्रतिस्पर्धा गरेका थिए । ३५ वर्षमाथिको प्रतिस्पर्धामा ५ भारतीय खेलाडी रहेको जानकारी दिए । ४५ वर्षमा २ र ५५ वर्षमाथिको उमेर समूहमा ५ जना गरी १० भारतीय खेलाडीले उमेर समूहमा प्रतिस्पर्धा गरेको प्रतियोगिताको संयोजक प्रिति बरालले जानकारी दिईन् । विजेता खेलाडीहरुलाई एनआईसी एशिया बैंकका क्षेत्रीय निर्देशक दिपेन्द्र शर्मा, नेपाल टेनिस संघका पुर्व अध्यक्ष मनोज राणा लगायतले ट्रफी पुरस्कार स्वरुप प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...