बैकुण्ठ मानन्धर हाफ म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

पोखरा, २५ मंसिर / नेपाली सेनाका होमलाल श्रेष्ठले मंगलबार पोखरामा भएको बैकुण्ठ मानन्धर गे्रट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि जितेका छन् । श्रेष्ठले २१ किलोमिटरको दुरीलाई १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उपाधि जिते । नेपाली सेनाकै धावक कृष्ण बस्नेत भने १२ सेकेण्डले पछि पर्दै उपविजेतामा चिक्त बुझाए ।

बस्नेतले १ घण्टा २१ मिनेट ३८ सेकेण्डका समय लगाउँदै पुरा गरेका थिए । तेस्रो स्थानमा पनि नेपाली सेनाकै खगेन्द्र भाट आए । उनले दौडलाई १ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए । पाँचौ ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।

महिला तर्फको १० किलोमिटर दौडमा सरिता बासी प्रथम भईन् । उनले दौड ३५ मिनेट ३२ सेकेण्डमा पुरा गरिन् । त्यसैगरी दोस्रो स्थानमा ३६ मिनेट ३२ सेकेण्डमा पुरा गर्दै रेशु बस्नेत र ३७ मिनेट ४३ सेकेण्डको समयमा पुरा गर्दै भूमी बुढामगर तेस्रो भईन् । महिला तर्फको प्रतिस्पर्धामा केवल ५ जना धाविका संलग्न थिए । पुरुष हाफ म्याराथनमा २४ जना धावकहरुको सहभागिता रहेको थियो ।

हाफ म्याराथन पुरुष विजेतालाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेताले २५ हजार र तेस्रो स्थानमा आउने धावकले भने १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । महिला तर्फको दौड विजेता धाविकाले २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार राशीको प्रायोजन भने नबिल बैंकले गरेको समेत नेपाल पर्वतरोहण संघले जनाएको छ ।

कमेन्टहरु
Loading...