शौचालय बनाउन गण्डकी सरकारले ३ करोड बजेट, पोखरामा स्मार्ट ट्वाईलेट बनाउने

फाइल तस्बिर

पोखरा, १६ कार्तिक /गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नगरपालिकामा शार्वजनिक शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरलमा स्मार्ट शौचालय निर्माणको प्रक्रिया सुरु भएको छ ।

शौचालय निर्माणका लागि बिहीबारको मन्त्रीपरिषद् बैठकले कायविधि पारित गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन १० लाख रुपैयाँ छुट्याएको छ । ६० प्रतिशत प्रदेश सरकारले र बाँकी ४० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले ब्यहोर्ने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

नगरपालिका र मन्त्रालयको गरि एउटा शौचालयमा १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुनेछ । यसमा ६ लाख ६६ हजार रुपैयाँ नगरपालिकाको भागमा पर्छ । प्रति शौचालयमा मन्त्रालयले १० लाख छुट्याएको छ । यो दरले मन्त्रालयले २६ नगरपालिकामा शौचालय बनाउन २ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।

नगरपालिकाले भने ४० प्रतिशतको दरले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले १ करोड ७३ लाख ३३ हजार रुपैयाँ खर्चनेछन् । मन्त्रालय र नगरपालिकाको गरि कुल २६ वटा शौचालयमा ३ करोड ३३ लाख रुपैयाँ बजेट खर्च हुनेछ ।

यो बाहेक मन्त्रालयले पोखरा महानगरपालिकासँग ६०÷४० को लगानीमा स्मार्ट शौचालय बनाउनेछ । स्मार्ट शौचालयमा मन्त्रालयको ६० प्रतिशतका दरले ५० लाख र महानगरको ४० प्रतिशत रकम ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कुल ८३ लाख ३३ हजार रुपैयाँको लगानी हुनेछ ।

सरकारका प्रबक्ता रामशरण बस्नेतका अनुसार शौचालयको डिजाईन, जग्गा र कार्यान्वयनको काम महानगरले गर्नेछ भने अनुगमन चाहीँ प्रदेश सरकारले गर्नेछ ।

कमेन्टहरु
Loading...