गण्डकी प्रदेश सरकार स्थापनाको एक वर्ष, वार रुपको सुरुवात

पोखरा, ४ फागुन /गण्डकी प्रदेशमा सरकार गठन भएको शनिबार १ बर्ष पुगेको छ । अघिल्लो बर्ष फागुन ४ गते तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुबँरसँग मुख्यमन्त्रीको रुपमा शपथ लिएपछि प्रदेश सरकार गठन भएको थियो ।

गण्डकी प्रदेश सरकारको पहिलो वार्षिकोत्सव समारोहमा शनिबार आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले जनताले चुनेर पठाएका प्रतिनिधि अरुलाई दोषारोपण नगरी स्वयंले कत्र्तव्य निर्वाह गर्न सुझाब दिए । उनले संघियता कार्यान्वयन गराउने जिम्मा जनप्रतिनिधिको भएको हुँदा एकले अर्कोलाई दोष लगाउने प्रवृत्ति अन्त्य गर्न सुझाव दिए ।

कार्यक्रमा गण्डकी प्रदेशकामुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघियता सही दिशामा अगाडि बढेको बताए । उनले संविधानको मर्म र संघियताको भावना अनुसार काम नगरे कतिपय विषय जटिल हुने बताए । अधिकारको बाँडफाँडको विषयमा आपसमा द्धन्द्ध हुने गर्दछ, हामी अहिले त्यही अवस्थामा गुज्रेका छौं । प्रदेश सरकारको संघीय सरकारसँग मुखामुख हुने तथा चिसोपना बढ्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले एउटाले धेरै लिन खोज्दा द्वन्द्व स्वभाविक हुने बताए ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले कानुन निर्माणमै वर्षदिन गुज्रेको बताए । प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विकासका लागि संघिय सरकारलाई दोष दिएर उम्किने नहुने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल उद्योग वाणिज्य संघ प्रदेश संयोजक सञ्जीव बहादुर कोइराला लगायत शुभकामना दिएका थिए ।

गण्डकी प्रदेश सरकारले आफ्नो १ वर्षे कार्यकालमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै कामलाई प्रभावकारी बनाउन ‘वार रुम’ शुरु गरेको छ । मुख्यमन्त्री कार्यालयमा उद्घाटन गरिएको वार रुमबाटै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आयोजनाहरुको निरिक्षण गर्ने बताए । विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कमेन्टहरु
Loading...