गण्डकी प्रदेशका सांसदले मागे गाडी सुविधा

पोखरा, १० साउन / गण्डकी प्रदेशका सांसदले गाडी सुविधा माग गरेका छन् । गण्डकी प्रदेशको शुक्रबारको संसद बैठकमा गाडी सुविधा माग गरेका हुन् ।

शुक्रबार प्रदेश सभामा सत्तारुढ नेकपा सांसद आशा कोइरालाले प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई पनि सवारी सुविधा चाहिने माग गरिन् ।

उनले गाउँ पालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले सवारी साधनको सुविधा पाउने तर संसद नपाउने भन्दै प्रश्न गरिन् । उनले वडाध्यक्षहरुले पनि सवारी साधनको सुविधा पाइरहेका बेला के यी जनप्रतिनिधिहरु सुविधाकै कारण आफ्नो भूमिका निर्वाह गर्न बञ्चित हुनुपर्ने हो उनको प्रश्न थियो ।
जनताका आवश्यकता सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन गाडी सुविधा चाहिने कोइरालाले बताइन् । प्रदेश सांसदलाई कानुन निर्माताका रुपमा मात्रै नहेरी विकासका कामको अपेक्षा पनि जनताले गरेको कोइरालाले बताइन् ।

नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले सबैलाई सुविधा बढाउँदै जाने हो भने प्रदेश सांसदलाई पनि गाडी चाहिने बताए । गण्डकी प्रदेश सरकारले गाउँ र नगर कार्यपालिकाका सदस्यहरुको सुविधा हालै वृद्धि गरेको छ ।

उपप्रमुख र उपाध्यक्षलाई पनि गाडी सुविधाको निर्णय प्रदेश सरकारले गरेको छ । जनप्रतिनिधिहरुको सुविधा वृद्धि हुँदा संघीयतामाथि नै घृणा पैदा हुने नयाँ शक्तिका सांसद हरिशरण आचार्यले बताए । सांसद ईन्द्रलाल सापकोटाले भने सुविधा वृद्धि गर्दा विचार गर्नुपर्ने विचार व्यक्त गरे।

कमेन्टहरु
Loading...