विषादीयुक्त तरकारी र फलफूल गण्डकी प्रदेशमा भित्रन नदिन नाकामा प्रयोगशाला

पोखरा, ९ फागुन /गण्डकी प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषदको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने, गण्डकी प्रदेश भित्रने दुई नाकामा प्रयोगशाला सञ्चालन गर्ने र पैसा फिर्ता गर्ने निर्णय गरेको हो ।

नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । आर्थिक भार नपर्ने गरी कर्मचारी व्यवस्था गर्ने ।

२०७५ असोज ३ गतेको मन्त्रिपरिषद बैठकबाट नवलपुरमा कार्यालय खोल्न संघ सरकारसँग कर्मचारी मागसहित गरिएको पठाएको अनुरोध सुनुवाइ नभएपछि प्रदेश आफैंले कार्यालय खोल्ने निर्णय भएको हो ।

त्यसै गरि स्याङ्जाको मालुंगा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला खोल्ने निर्णय गरेको छ । प्रदेशमा भित्रने तरकारी, फलफूल र पशुपन्छी जाँच गरेर मात्रै प्रवेशमा आउने बताए । मानव स्वास्थ्य प्रतिकूल विषादीको मात्रा भेटिए प्रदेशमा प्रवेश हुन नदिने उनले बताए ।

त्यसै गरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा आएको ५ करोड ९६ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउन संघ सरकारलाई सहमति दिएको छ । उक्त प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ८ शीर्षकका लागि उक्त रकम आएको भुल बस प्रदेश सरकारको खातामा आएको थियो ।

कमेन्टहरु
Loading...