गण्डकी प्रदेशमा मन्त्रीको भन्दा स्वकीय सचिवको भत्ता धेरै (कसको कति ?)

पोखरा, २५ पुस / नयाँ आर्थिक वर्ष यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भत्तामात्रै करिब ३ लाख रुपैयाँ बुझेका छन् । चालू बर्षमा उनले भत्ता बापत सबैभन्दा धेरै रकम बुझेका हुन् । प्रदेशको राजधानी पोखरा बाहिर निस्किए पछि मुख्यमन्त्री र मन्त्रीहरुले भत्ता पाउँछन् ।

उनले दुई लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्रीपछि सबै भन्दा धेरै भत्ता बुझ्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ छन् । उनले पनि सोही अबधिमा ९६ हजार आठ सय ७५ रुपैयाँ बुझेका छन् ।

तेस्रो नम्बरमा धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत पर्छन् । उनले ९६ हजार छ सय ५० रुपैयाँ बुझिसकेका छन् । चौंथो नम्बरमा गृहमन्त्री हरिबहादुर चुमान पर्छन् । उनले ७४ हजार तीनसय ७५ रुपैयाँ बुझेका छन् ।

पाँचौं नम्बरमा पर्यटन मन्त्री विकास लम्साल, छैठौंमा कृषिमन्त्री लेखबहादुर थापा र सातौंमा पर्छिन् सामाजिक विकास मन्त्री नरदेवी पुन । लम्सालले साउन यता ५४ हजार तीन सय १० रुपैयाँ भत्ता बुझेका छन् भने थापाले ४८ हजार आठसय ७५ रुपैयाँ बुझेका छन् । सामाजिक विकास मन्त्री मगरले साउन महिनायता जम्मा २० हजार रुपैयाँ भत्ता बुझेकी छन् ।

सरकारका मन्त्रीहरुलाई राजधानी भएको जिल्ला बाहेकका १० वटा जिल्लासँगै विदेश जाँदा समेत भत्ता दिने ब्यवस्था छ । यस बाहेक मन्त्रीहरुले नियमित तलबसँगै चाडवाड मनाउन खर्चसमेत सरकारसँग लिने गरेका छन् ।

मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार र स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द बहादुर नेपालीले १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

मन्त्रीको भन्दा स्वकीय सचिवको भत्ता धेरै

गण्डकी प्रदेश सरकारमा मन्त्रीको भन्दा मन्त्रीका स्वकीय सचिव र कार्यालय सहयोगीहरुले धेरै भत्ता बुझेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले सामाजिक विकास मन्त्री नरदेवी पुनको भन्दा पनि धेरै दैनिक भ्रमण भत्ता बुझेका छन् । साउन महिनायता मन्त्री पुनले २० हजार रुपैयाँ बुझेकी छन् भने गुरुङले ३६ हजार रुपैयाँ बुझिसकेका छन् ।

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङका स्वकीय सचिव रोमाकान्त पोखरेल पनि मन्त्री पुनको भन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा दोस्रो नम्बरमा छन् । उनले २८ हजार बुझेका छन् । त्यस्तै कानुन मन्त्री हरि बहादुर चुमानका स्वकीय सचिव खुमबहादुर विक धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा तेस्रो नम्बरमा छन् ।

उनले मन्त्री पुनको भन्दा पाँच हजार २ सय रुपैया बढि बुझेका छन् । अर्काे धेरै भत्ता बुझ्नेमा उद्योग पर्यटन वन वातावरण मन्त्रीका स्वकीय सचिव किशोर सापकोटा छन् । उनले पनि मन्त्री पुनको भन्दा धेरै रकम बुझेका छन् । उनले जम्मा २१ हजार छ सय रुपैयाँ बुझेका छन् । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रीका स्वकीय सचिव भरत खनालले पनि १९ हजार २ सय दैनिक भ्रमण भत्ता बुझेका छन् ।

कमेन्टहरु
Loading...