गण्डकी प्रदेशमा प्रशिक्षक सम्मानमा विभेद

पोखरा, ३० असार /गण्डकी प्रदेश सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई गरिएको सम्मानमा विभेद गरेको छ । प्रतियोगिताका पदक विजेतालाई सम्मान गर्दा गण्डकी प्रदेश सरकारले त्यही पदक विजेता खेलाडीको स्वयंसेवक प्रशिक्षकलाई भने सम्मान गरेन् ।

नेपालगन्जमा गत चैत–बैशाख सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले र्आचरीसहित ३५ खेलमा १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जितेको थियो । पदक जित्नेमा अधिकांश खेलमा स्वयंसेवक प्रशिक्षक खटिएका थिए । सरकारले स्वर्ण, रजत र कास्य पदक जिताउने प्रशिक्षकलाई नगद क्रमश ५,३ र २ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । खेलकुद विकास समितिले परिषदबाट नियुक्ति पाएका र करारमा नियुक्त भएका प्रशिक्षकलाई मात्रै नगदसहित सम्मान गरेको थियो । तर स्वय सेवक प्रशिक्षक खटिएको खेलले पदक जितेपनि उनीहरुलाई भने सम्मान गरिएन् ।

‘संघले आफैंले कोच बनाएर पठाएको छ र कोही खेलाडी नै कोच भएर गएका छन् ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘परिषदका कोच नभएपछि उनीहरुलाई सम्मान नगरिएको हो ।’ उनका अनुसार संघले आफना पदाधिकारी र खेलाडीलाई नै कोच बनाएर पठाउनु गलत हो । ‘केवल भत्ता र ट्रयाक पाउने आशमा संघका पदाधिकारी र खेलाडी कोच बनाएर पठाइएको छ ।’ उनको ठहर थियो ।

गण्डकी प्रदेशले ३५ खेलमा आफनो सहभागिता जनाएको थियो । ३५ खेलमध्ये अधिकांश खेलको प्रशिक्षक नै छैनन् । प्रशिक्षक नभएको अवस्थामा स्वयसेवक प्रशिक्षकको जिम्मेवारीमै खेलाडीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । अधिकांश खेलमा स्वयसेवक प्रशिक्षकले पदक जितेर फर्किएको हो । ‘कोच बनाएर पठाउने निर्णय जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिको हो ।’ खेलकर्मीहरु बताउँछन् ।

‘हामीसँग कोच नै छैन् । संघले नै निर्णय गरेर कोच पठाएका हौं । सबै नामावली खेलकुदमा पठाएका थियौं । अन्तिम निर्णय सदर गर्ने जिम्मेवारी खेलकुदको हो ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘स्वयसेक प्रशिक्षककै भरमा हामीले ५ स्वर्णसहित १२ पदक जित्यौं ।’ उनका अनुसार कास्कीमा अधिकांश खेलका स्वयसवेक प्रशिक्षककै मेहनतमा खेलाडीले पदक जितेका छन् ।

सरकारले स्वंयसेवक प्रशिक्षकको मनोबल र हौसला बढाउन सम्मान गर्नुपर्ने उनको भनाई थियो । ‘परिषदका कोचले तलब खाईरहेका छन् । तर स्वयंसेवकले आफनै बलबुतामा प्रशिक्षण गराईरहेका छन् ।’ उनले भने–‘त्यसैले खेलाडीसँगै स्वयसेवक प्रशिक्षकलाई पनि सम्मान गर्नुपर्ने थियो । अब प्रशिक्षकनै नभएको खेलमा स्वंयसेवक प्रशिक्षकले नसिकाए उपलब्धी शून्य हुन्छ ।’

लन टेनिस र सफ्ट टेनिसमा पनि खेलाडीले पदक जिते । तर प्रशिक्षक भने स्वयंसेवक थिए । फ्रेन्सिङमा पनि पदक जितेको थियो । ‘कोच विना त खेलाडी खेल्दैन तर पदक विजेता खेलाडीलाई दिएनन् ।’ फेन्सिङका प्रशिक्षक रेकमाया गुरुङले बताईन् । फेन्सिङमा दुई टिम इभेण्टमा कास्य पदक जितेको थियो ।

फुल कन्ट्याक्ट कराँते, सितेरियो तेक्वान्दो, तेक्वान्दो, ह्याण्डबल, भलिबल, एथलेटिक्स, भारोत्तोलन, जिमन्याष्टिक, शारीरिक सुगठन, हक्की(पुरुष) खेलका परिषदका प्रशिक्षक राष्ट्रिय खेलकुद प्रतियोगितामा खटिएका थिए । ती खेलमा पनि महिला र पुरुषको छुट्टाछुट्टै प्रशिक्षक हुनुपर्छ । परिषदका स्थायी, अस्याथी र करारका प्रशिक्षक थिए भने स्वयंसेवक प्रशिक्षक नै थिए । त्यसबाहेकका अन्य खेलमा भने स्वयंसेवक प्रशिक्षककै जिम्मेवारीमा खेलाडी एरिनामा उत्रिएका थिए।

कमेन्टहरु
Loading...