गण्डकी मेडिकल कलेजमा–ताला खोल्ने नखोल्ने बीचमै विवाद

प्रकाश ढकाल
पोखरा, २ चैत /गण्डकी मेडिकल कलेज सञ्चालकले पक्राउ पूर्जी खारेज गर्न अन्तरिम आदेश माग्दै दिएको निवेदन विपरित उच्च अदालतले कानुन बमोजिम कारबाहीको आदेश दिएपछि शुक्रबार विद्यार्थीहरुले कलेज र अस्पतालको ताला खोल्ने सहमति बनेको थियो ।

जिल्ला प्रशासन कार्यालय, विद्यार्थी र उनीहरुका अभिभावकबीच सहमति भयो । शुक्रबार दिउँसो साढे ३ बजे ताल्चा खोलेर नियमित पठनपाठनमा जान विद्यार्थीहरु राजी भए । तर त्यसको एउटा शर्त थियो, कलेज सञ्चालकमध्ये कसैले जिम्मा लिनुपर्ने । सोही बमोजिम जिल्ला प्रशासन कार्यालयले सञ्चालकलाई खबर पठायो ।

तोकिएको समयमा कलेज परिसरमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय, अभिभावक, विद्यार्थी र नागरिक समाजका अगुवाहरु उपस्थित भए । तर कलेजका सञ्चालक कोही पनि उपस्थित भएनन् र पूर्व निर्धा्रित ताल्चा खोल्ने कार्यक्रम पनि रोकियो । सञ्चालकले जिम्मा लिए चावी खोल्ने कुरा भएको हो ।

‘सञ्चालक आउनुस हामी खोलिदिन्छौं भन्यौं, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने–तर उहाहरु नै आउन चाहानुभएन । जिम्मा लिने मान्छे नभए कसको रोहवरमा चावी खोल्ने ?’ कलेज सञ्चालक नै गम्भीर नभएको उनले सुनाए । कलेज सञ्चालकले जिम्मा नलिएसम्म ताला खोल्ने अवस्था नरहेको बुढाले बताए ।

अनुसन्धानमा सघाएर अवैध रुपमा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भए ताल्चा खोलेर सहज वातावरण बनाईदिन आँफुहरु तयार रहेको बिद्यार्थीहरु बताउँछन् । ‘अदालतले अन्तरिम आदेश जारी नगरेपछि उनीहरु पक्राउ पर्ने र कानुनी दायरामा आउने कुरामा हामी विश्वस्त छौं । कानुनी कारबाही चल्दै गर्छ ।

हामी नियमित पढाईमा जान्छौं, आन्दोलनरत विद्यार्थी रविना मिश्र भन्छिन्–तर जिम्मा लिने मान्छे खै ? नागरिक समाज र प्रशासनले खोलेर मात्रै खुल्ने त होईन नि । त्यसका लागि कलेज तयार हुनुपर्छ ।’ एमविविएस दोश्रो बर्षका विद्यार्थीहरुको परीक्षा नजिकिएको छ । परीक्षाका लागि फाराम भर्ने म्याद ८ दिन मात्रै बाँकी रहेकोले कलेज खोलेर परीक्षामा सहभागी हुने वातावरण बनाईदिन विद्यार्थीहरुले माग गरेका छन् ।

तेश्रो बर्षका विद्यार्थीहरु चाहीँ आफूहरुले परीक्षा छोडेर आन्दोलनमा लागेको भन्दै पैसा फिर्ता हुने ज्ञारेण्टी नपाएसम्म ताला खोल्न नदिने अडानमा छन् । विद्यार्थीकै अधिकारका लागि हामी परीक्षा छोडेर आन्दोलनमा छौं । कलेज प्रशासन मतलव गर्दैन । करोडौं रुपैयाँ ठगी भएको छ, विद्यार्थी प्रविन गौतम भन्छन्–हामी ताला खोल्न तयार छौं ।

तर हाम्रो पैसा फिर्ता गर्ने ज्ञारेण्टी कसले लिन्छ ?’ विद्यार्थीको मागप्रति कलेज प्रशासन गम्भीर नभएको उनको आरोप छ । उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालया आदेश पठाएको छ । विद्यार्थीहरुले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा फागुन २३ गते जिल्ला अदालत कास्कीको अनुमतिले जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोही दिन कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् ।

आठ सय कर्मचारी अन्यौलमा

पोखरा बाटुलेचौरकी कल्पना गायक दिनदिनै अस्पताल पुग्छिन् । पहिलेजस्तो चाप नभएपनि उनको दिनहुँ चल्ने काम सरसफाई गर्छिन् । अस्पतालले तोकेको अवधीसम्म बस्छिन् र घर फर्कि्न्छिन् । उनलाई लिन र छोड्न पहिलेजस्तो अस्पतालको गाडी जाँदैन । ‘२० दिनजति भयो गाडी आउँदैन ।

आँफै भाडा तिरेर आउजाउ गर्ने हो, उनले भनिन्–तलव पनि दिँदैन । काम गरिरहेको छु । पैसा पाउने नपाउने ठेगान नै भएन ।’ उनीजस्ता २ सय हेल्पर अस्पतालमा कार्यरत छन् । तर कल्पनाको झैं धेरैको घर पोखरामा छैन । धेरै दिदिबहिनीहरु भाडाको कोठामा बस्नुहुन्छ । महिनैपिच्छे तलव बुझेर खर्च चलाउने धेरै हुनुहुन्छ, उनले अघि थपिन्–भाडामा बस्नेहरुको तर वेहाल भैसक्यो ।’ अधिकांश कर्मचारीहरु अस्पतालमा पुगेर हाजिरी गर्छन् । आफ्नो जिम्माका केही काम गर्छन् र निस्किन्छन् । केही चाहीँ दिनभरी अस्पताल परिसरमै बसेर फर्किनेहरु पनि छन् ।

विद्यार्थी र कलेज प्रशासनको चेपुवामा कलेज र अस्पतालमा कार्यरत ८ सय भन्दा बढी कर्मचारी परेका छन् । ५ सय हाराहारीका कर्मचारीले ३ महिनादेखि तलव समेत नपाएको गुनासो गरेका छन् । ‘आन्दोलन सुरु भएको दिन तलव खातामा जानुपर्ने हो । त्यही दिनदेखि आन्दोलन सुरु भयो । हाम्रो तलव पनि रोकियो, अस्पतालका ट्रान्सपोर्ट इन्चार्ज लिलाकण्ठ खड्काले भने–हाम्रो तलवको जिम्मा अव कसले लिन्छ ? हामी विहान बेलुकी के खाने भन्ने अवस्थामा पुगिसक्यौं ।’

अस्पताल खुलेर सहज रुपमा कर्मचारीले काम गर्ने वातावरण सिर्जना गरिदिन प्रशासनसँग उनीहरुको आग्रह छ । ‘अस्पताल खुले पो काम गर्न पाईन्छ । काम गरेपछि तलव आउँछ, उनले थपे–अस्पताल चलेको छ । न हाम्रो तलव आयो । हाम्रो समस्या कसले बुझ्छ ?’ इञ्चार्ज र डाक्टरहरुले ३ महिनादेखिको तलव पाएका छैनन् भने अरु कर्मचारीहरुको तलव पनि २ महिनादेखि रोकिएको कर्मचारीहरु बताउँछन् ।

क्यान्टिनमा ताला

डेढ महिनादेखि अस्पताल बन्द छ । अस्पताल नखुलेपछि चहलपहल हुने त कुरै भएन । अस्पताल परिसरमा रहेको क्यान्टिन (चमेनागृह) मा ब्यापार हुन छोडेको पनि उति नै दिन भयो, जति दिन विद्यार्थीको आन्दोलन चलेको छ । ‘न विरामी, न डाक्टर । महिनामै ३ लाख भन्दा बढी खर्च छ ।

डेढ महिनादेखि सुको आम्दानी छैन, क्यान्टिन सञ्चालक यूवराज लामिछाने भन्छन्–अहिलेसम्म त खुल्छ होला भनेर बाटो हेरेको । अव खुल्ने छाँट देखिएन । बन्दै गर्नुपर्ने अवस्था आयो ।’ शनिबारदेखि क्यान्टिनमा ताला लगाएर बस्ने उनले सुनाए । अस्पतालमा नियमित आउने केही कर्मचारीले खाजा खाएपनि क्यान्टिन चलाउने खर्च उठाउन नसकेको लामिछानेको भनाई छ ।

कमेन्टहरु
Loading...