प्रदेशकै ठूलो अस्पताल गण्डकी अस्पतालमा समस्या धेरै

श्याम राना मगर
पोखरा, १४ मंसिर/ प्रदेश कै ठूलो अस्पतालका रुपमा मानिन्छ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगत चलेको उक्त अस्पतालमा दैनिक २ हजारको हाराहारीमा सेवाग्राही आउँछन् । बिहानैदेखि उनीहरुको भीड लाग्छ ।

टिकट काउन्टरदेखि फार्मेसीसम्म देखिने सेवाग्राही ‘यो अस्पतालमा राम्रो उपचार हुन्छ’ भन्ने विश्वासमा आउँछन् । तर प्रशासनले त्यसबारे ध्यान नदिँदा समस्या उत्पन्न हुने गरेको छ । कहिले अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भयो भन्ने आरोप लाग्छ त कहिले निजी कर्मचारीमाथि शोषण भयो भन्दै हड्ताल हुन्छ ।

बिरामीको ठूलै लर्को छ अस्पतालमा । बिरामी कहिले भूइँमै भेटिन्छन् त कहिले बेन्चमै । तर सेवा भनेजस्तो नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । त्यसमाथि त्यहाँको शौचालयको गुनासो सदाबहार सुनिरहने एउटा समस्या हो । बिरामी तथा उनीहरुको कुरुवाको एउटै गुनासो रहन्छ, ‘शौचालय गन्हाएर बस्नै गाह्रो भो । उपचार गर्न आएको मान्छे अर्को रोग बोकेर जानुपर्ने जस्तो देखियो ।’

उपचार मेसिनको अभाव

अस्पताल प्रशासनले ५ वर्षअघि खरिद गरेको सिटिस्क्यान मेसिन बिग्रिएको झन्डै ३ वर्ष भयो । अर्को सिटिस्क्यान मेसिन बिग्रिएको पनि १ वर्ष पुग्नै आँट्यो । त्यसबाहेक पनि अन्य, अत्यावश्यक उपकरण एमआरआई, डायलोसिस, अप्रेसन गर्ने उपकरण लगायत थुप्रै उपकरणको अस्पतालमा अभाव छ । बिरामीको चाप थेग्न नसकेर आएका बिरामी अन्यत्रै रेफर गर्नुको विकल्प छैन ।

५ सय बेड क्षमताको यस अस्पतालमा अहिले ६ सय १ कर्मचारीको दरबन्दी छ । तर, दरबन्दी अनुसार कर्मचारी पनि छैनन् । अस्पतालमा वरिष्ठ विशेषज्ञसहित जनशक्तिको अभाव नभएपनि उपकरण नहुँदा गुणस्तरीय सेवा दिन नसकेको अस्पताल स्वीकार्छ । ‘दरबन्दी नै कम छ । हामीले संख्या बढाउन पहल गरिरहेका छौं,’ प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य भन्छन् ।

३ करोड घाटामा अस्पताल

बिरामीको थेगिनसक्नु चाप छ, अस्पतालमा । तर पनि घाटा व्यहोर्दै आएको प्रशासनको दाबी छ । ‘आमा सुरक्षा भत्ता, एचआइभी एड्स, सुत्केरी सुरक्षा भत्ता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ निर्देशक डा. आचार्य भन्छन्, ‘तर बजेट अभाव हुँदा कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आइसक्यो । प्रतिष्ठानको ३ करोड गइसक्यो ।’ उनका अनुसार केन्द्रको मातहतमा रहेको अस्पतालका लागि प्रदेशले दिने बजेट नदिँदा कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको हो ।

पश्चिमाञ्चल अस्पतालको भवन रेट्रो फिटिङ हुने, यस्तो बन्दै छ अस्पताल
पश्चिमाञ्चल अस्पतालको भवन रेट्रो फिटिङ हुने, यस्तो बन्दै छ अस्पताल
आश्वासनमात्रै ठूलो

केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालको अनुगमन गरे । अस्पताल प्रशासनले उपकरणदेखि सार्वजनिक शौचालयको अवस्था देखाउँदै प्रदेशलाई सहयोग गर्न आग्रह ग¥यो । मुख्यमन्त्री गुरुङले अस्पताल संघीय सरकारको मातहतमा रहेको हुँदा सहयोग गर्न नसकिने बताएका थिए । तर उनले संघीय सरकारको ध्यानाकपर्षण गराउने आश्वासन दिएका थिए । भनेका थिए, ‘अस्पताललाई प्रदेशको मातहतमा ल्याउन पहल गर्छौं र अस्पताललाई निगरानी गर्छौं ।’

अस्पतालको भौतिकमात्रै नभएर अन्य कुरामा पनि सरोकारवाला निकायले सहयोगको आश्वासन दिइरहेको छ । तर पूरा अहिलेसम्म नभएको प्रशासन बताउँछ । ‘मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, सिडिओ कार्यालयबाट हुन्छ भनेर आश्वासन आए पनि समस्या उस्तै छ,’ डा आचार्य सुनाउँछन् ।

प्रतिष्ठानले चाँडै पोस्ट ग्राजुयट (पिजी) कक्षा सुरु गर्दै छ । प्रतिष्ठानले मेडिसिन सर्जरी, अर्थोपेडिक्स लगायत ६ वटा विषयमा पिजीको पढाई सुरु गर्ने भएको हो । आचार्यले भने, ‘पढाउन शिक्षकका साथै अन्य भौतिक तयारी गरिसकेका छौं । अब मेडिकल काउन्सिलले विद्यार्थी संख्या तोक्छ र त्यही अनुसार पढाइ सुरु हुन्छ ।’ उनले पढाइका लागि विद्यार्थी खोज्ने काम पनि भइरहेको सुनाए ।

कमेन्टहरु
Loading...