सुपरनेचुरल ‘फूलैफूलको मौसम तिमीलाई’

पोखरा, १८ फागुन /‘अप्राकृतिक खालको शक्ति’ भएको चरित्र नेपाली फिल्महरुमा निकै कम देखिन्छन् । यदि देखिएपनि त्यस्ता चरित्र दर्शकका लागि चित्तबुझ्दो हुँदैनन् । बलिउड हलिउडमा भने यस्तो खाले चरित्रहरु फिल्ममा देखिन्छन् ।

सुपरनेचुरल ‘फूलैफूलको मौसम तिमीलाई’
सुपरनेचुरल ‘फूलैफूलको मौसम तिमीलाई’

तर आगामी शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’मा भने ‘सुपर नेचूरल पावर’वाला चरित्र भेटिने यसका निर्देशकले बताएका छन् । पोखरामा मंगलबार पत्रकार भेटघाट गर्दै फिल्मका निर्देशक दिनेश डिसीले ‘फूलैफूलको मौसम तिमीलाई’मा दर्शकले नयाँ स्वाद भेट्ने दाबी गरे ।

‘म यसमा बलिउड र हलिउडका स्पाईडरम्यान, क्रिश, पिके जस्ता अति नै अप्राकृतिक शक्तिवाला चरित्र छन् भन्दिन । तर नेपालीपन अनुसारको यस्ता चरित्र मेरो फिल्ममा भेटिन्छ ।’ डिसीले भने–‘जुन कुराले फिल्म हेर्दा दर्शकलाई आनन्द लाग्छ ।’ प्रचारको क्रममा एक्लै पोखरा आईपुगेका डिसीले यो चरित्र कसले निभाएको छ भन्ने कुरा भने खुलाएनन् ।

फिल्मको शिर्षकले नै लभस्टोरी फिल्म दर्शाउने भएकोले यो फिल्म हेर्दा दर्शकले निकै प्रेमिल महशुस गर्ने उनले बताए । गायक तारादेबीको चर्चित गीतबाट शब्द सापटी लिएर आफुले यो फिल्मको शिर्षक जुराएको उनले प्रस्ट्याए । शिर्षक जस्तै फिल्म पनि कथाको हिसाबले दर्शकलाई बाँध्ने खालको भएको उनले बताए । आफुलाई निकै मन परेको शिर्षक र स्टोरी भएकोले यो फिल्ममा अघिल्लो फिल्मको तुलनामा अझै राम्रो काम गरेको उनले बताए ।

‘म लार्जर देन लाईफ फिल्महरु निर्माण गर्छु र रुचाउँछु ।’ डिसीले भने–‘मेरा आफ्नो शैली यो फिल्ममा दर्शकले अझै विशेष रुपमा हेर्न पाउनुहुनेछ ।’

यस्तै उनले फिल्मको प्रचारमा आमेश भण्डारी र नीता ढुंगानालाई मात्र अगाडि ल्याईएपनि थुप्रै चर्चित अनुहारहरुले यसमा अभिनय गरेको खुलाए । करिश्मा मानन्धर, नीर शाह, गजित विष्ट, जीवन लुँईटेल जस्ता चर्चित अनुहारहरु पनि फिल्ममा समावेश रहेको डिसीले बताएका छन् ।

फागुन २१ बाट अलनेपाल रिलिज हुने फिल्मको नाफाको सम्पूर्ण रकम धादिङमा तुईनबाट झुण्डिएर स्कुल जाने विद्यार्थीहरुको सजिलोका लागि निर्माण गरिने झोलुङ्गे पुल निर्माणमा सहयोग गरिने उनले बताएका छन् । द दिनेश डिसी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा डिसीसँगै अमिर अलिले पनि लगानी गरेका छन् । फिल्मको कुल लगानी ६५ लाख रुपैयाँ रहेको निर्माण कम्पनीले जनाएको छ । भूवन केसी निर्देशित फिल्म ड्रिम्स पनि ‘फूलैफूलको मौसम तिमीलाई’सँग एउटै मितिमा जुध्दैछ ।

कमेन्टहरु
Loading...