फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता होस् – खगराज अधिकारी

काठमाडौं, १४ फागुन /नेकपाका सांसद खगराज अधिकारीले फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता गर्न माग गरेका छन् । उनले पोखराको फेवातालको ६ हजार रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरेको भन्दै त्यो जग्गा फेवाताल कै नाममा फिर्ता ल्याउन माग गरे ।

मंगलबार संसदमा बोल्दै उनले २०७५ वैशाख १६ गते सर्वोच्च अदालतको संयुक्त इजलास मान्य न्यायाधीश ओमप्रकाश मिश्र र मान्य न्यायाधीश सपना प्रधान मल्लको अन्तरिम आदेश उत्प्रेषणयुक्त परमादेश अन्तर्गत रहेर तत्काल फिर्ता गर्न माग गरेका हुन् ।

उनले परमादेशमा सरकारलाई कार्यपालिकाबीच समन्वय गरी अनाधिकृत रुपमा निर्माण भएका घर, होटल लगायत स्थायी वा अस्थायी संरचना ६ महिनाभित्र हटाउने व्यवस्था गर्नु, गराउनु भन्ने समेत आदेश भएको बताए । उनले फागुनसम्म आइपुग्दा पनि यस विषयमा विशेष व्यवस्था नभएको समेत प्रष्ट्याएका छन् ।

त्यति मात्र नभएर तालभित्रै भ्रष्टाचार विरुद्धका धेरै ठूला स्वरहरु उराल्दै विभिन्न ठाउँमा आवाज उठाउनेहरुले नै तालभित्रको ६ हजार रोपनी जग्गासमेत दर्ता गरेकाले दर्ता बदर गर्ने सरकार सगँ माग गरे । उनले नेपाल सरकारले बिना आलटाल पानीभित्रको जग्गा दर्ता गर्ने, गराउनेहरुलाई खारेज कानुनी कारबाही समेत गर्न माग गरे ।

केन्द्र सरकारले पानीमुनिको जग्गा खारेज गर्ने काम र त्यो प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर ती घर टहराहरु ६ महिनाभित्र हटाएर जस्ताकोतस्तै फेवातालको आकार र क्षेत्रफल कायम गर्नका आदेश दिएको बताए । उनले पछिल्लो समय बेगनास, रुपा, कमलपापेखरी जस्ता तालहरुमा समेत अतिक्रमण बढिरहेको बताए ।

कमेन्टहरु
Loading...