फेवा देखि रारासम्म

सुमन ढुंगाना/पोखरा

७३ वर्षीय विष्णुबहादुर गुरुङ र ६५ वर्षकी अमेरिकी महिला मालियासहित २५ जनाको टोली फेवातालको किनारबाट रारातालका लागि रवाना हुन्छ । चारवटा गाडी र एउटा मोटरसाइकल लिएर यात्रा सुरु गरेको टोली पहिलो दिन कोहलपुर पुग्छ । दोस्रो दिन कालिकोटको मान्मामा बास बसी नाग्माबाट सुरु हुने कच्चीबाटो पार गर्दै तेस्रो दिन रारा पुगिसक्छ । त्यति बेला घडीको सुइमा रातिको ९ बजिसकेको थियो । आकाशमा टहटह जुन लागेकाले रारा राति पनि मुस्कुराइरहेको थियो ।

८ वर्ष दुबई बसेर नेपाल आएकी काठमाडौं लाजिम्पाटकी सुब्रिना न्यौपाने रारा पुग्ने बित्तिकै खुसीले दगुरें भन्छिन् । ‘रारा नगएको भए त जीवनभरि पछुतो लाग्ने रहेछ, इट्स रियल्ली हेवन,’ उनी भन्छिन् । पोखरादेखि मोटरसाइकल चलाएर रारा पुगेका महेन्द्र गुरुङलाई लाग्यो जीवनको ६/७ वर्ष आयु थप भयो । ‘तालदेखि ३ घन्टा हाइकिङ गरेर मुर्मा डाँडाबाट ३६० डिग्री तालको दृश्य हेर्दा त फर्किन मन नै लागेन, सधै यहीं बसूँजस्तो भयो,’ गुरुङले सुनाए । उनी लेकसाइडका पर्यटन व्यवसायी हुन् ।

कच्ची भए नि सही मुगुसम्म सडक पुगेपछि रारा पुग्ने पर्यटकको संख्या वृद्धि भएको छ । देशका दुई ठूला फेवा र रारातालको दुरी ८२४ किलोमिटर छ । त्यसमध्ये ७ किलोमिटर पैदल हिँड्नुपर्छ, अरु मोटरबाटो हो । समुद्र सतहबाट २९०० मिटर उचाइमा रहेको रारा जान अब तपाईले मनमात्र गरे हुन्छ । किनभने रारा र अरु पर्यटकीय गन्तव्यको यात्रामा जान चाहनेलाई लक्ष्य गरेर गुरुङले ओजन एक्स्पेडिसन खोलेका छन् । जसले देशका दुई ठूला ताललाई जोड्ने काम गरेको छ । एक्स्पेडिसनले पर्यटक आफै जान अलि सजिलो नभएको र अफरोड ट्रिपलाई प्रमोसन गर्ने उद्देश्य लिएको छ ।

ओजनले अहिलेसम्म ८ वटा टुर गराइसकेको छ । मुस्ताङको लोमान्थाङ हुँदै कोराला नाका, मनाङको तिलिचो ताल, कालिन्चोक र रारातालसम्मको अफरोड एडभेन्चर गराइसकेको छ । सोलुखुम्बु, डोल्पा र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा पनि अबको केही समयमा यस्तै टुर गर्ने लक्ष्य रहेको गुरुङ सुनाउँछन् ।

पोखराबाट राराताल जान पर्यटकले ७ दिन छुट्याए पुग्छ । जसका लागि ३० हजार खर्च लाग्छ । त्यति तिरेपछि पर्यटकले खाने, बस्ने, गाडी, बिमा, मेडिकल टिम र टेक्निकल टिमको सुविधाको फ्रिव्रmी लिनुपर्दैन । योपटक ओजनले पूर्णिमाको दिन रारा पुग्ने र क्याम्प लगाएर बस्ने ट्रिप गरेको हो । जसको नाम फूलमुन क्याम्प इन रारा दिइएको थियो । राराताल राष्ट्रिय निकुञ्ज भित्र रहेकाले वरिपरि पर्याप्त होटल छैनन् । भएको एउटा होटल पनि कम क्षमताको छ । जसले गर्दा क्याम्पमा बस्नु पर्छ । यसरी बस्दा फरक अनुभव गर्न सक्छन् पर्यटकले ।

७३ वर्षको उमेरमा रारा पुगेर फर्केका वृद्ध विष्णुबहादुर गुरुङ भन्छन्, ‘स्वास्थ्य ठिक नभए पनि रारा जान सक्दो रचु, त्यहाँबाट फर्केसी मज्जा लाइच ।’ रारा जान पहिलेको भन्दा केही सजिलो त छ तर हवाई सुविधा अझै नियमित छैन । अन्य गन्तव्यको जस्तो नियमित गाडी पनि पाइँदैन । यसरी नै आफ्नै गाडी लिएर जाने वा प्याकेजमा जान भने मज्जाले सकिन्छ । राज्यले आफ्नो तवरबाट रारा यसरी जान सकिन्छ भनेर अहिलेसम्म प्रचार गरेको देखिएको छैन भन्छन् व्यवसायी महेन्द्र गुरुङ । उनी थप्छन्, ‘निजी स्तरबाट भएको यो प्रयासलाई सहयोग गरेर सरकारले अब राराको घुम्टो खोलिदिनुपर्छ ।’

राराताल
राराताल
राराताल
राराताल
राराताल
राराताल
फेवादेखि रारासम्म
फेवादेखि रारासम्म
राराताल
राराताल
कमेन्टहरु
Loading...