अष्ट्रेलियाको समस्या चाँडै समाधान हुन्छः इक्यान

पोखरा, ९ फागुन /अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजि खारेज भएसँगै भविष्यको चिन्तामा डुबेका विद्यार्थी र उनीहरुको नेपालस्थित अभिभावकहरुलाई धैर्यता राख्न नेपाल शैक्षिक परामर्श संघ(इकयान) ले आग्रह गरेको छ । विद्यार्थीहरुको यो समस्याको समाधानका लागि नेपाल सरकारदेखि अष्ट्रेलियन सरकारसम्म आफूहरुले पहलकदमी गरिसकेको र चाँडै नै विद्यार्थीहरुले न्याय पाउने उसले दाबी गरेको छ ।

विहिबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले यो समस्या समाधानका लागि शैक्षिक परामर्शदाताहरुको छाता संगठनको हिसाबले आफूहरु दत्तचित्त भएर लागिरहेको बताएका छन् । ‘हामी अष्ट्रेलियामा रहेको सो कलेजसँग निरन्तर सम्पर्कमै छौँ । साथसाथै विद्यार्थीहरु पनि हाम्रो सम्पर्कमै हुनुहुन्छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘यथाशक्य चाँडो उचित समाधानको प्रयासमा हामी क्रियाशिल छौँ ।’

अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुको सरोकार राख्ने कानुन र व्यवस्थाका आधारमा पनि त्यहाँ रहेका विद्यार्थीहरु आत्तिन पर्ने अवस्था नरहेको इक्यानले जनाएको छ । त्यो सँगै त्यहाँ रहेको नेपाली दुतावास, विद्यार्थीहरुको संगठन पनि निरन्तर यो समस्या समाधानका लागि लागिपरेकोले विद्यार्थीहरुको पक्षमा नै निर्णय हुनेमा ढुक्क रहन उसले आह्वान गरेको छ ।

सम्बन्धन लिएको भन्दा फरक पाठ्यक्रमको पढाई गरेको आरोपमा अष्ट्रेलिया सरकारले एआइबिटी कलेजको दर्ता खारेज गरेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मर्कामा परेका हुन् । तथ्याङ्कअनुसार कलेज दर्ता खारेज हुँदा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया गएका १२ सय भन्दा बढि विद्यार्थीहरु मर्कामा परेका छन् ।

कास्की र आसपासबाट मात्रै यो कलेजमा २ सय भन्दा बढि विद्यार्थीहरु अष्ट्रेलिया पुगेको इक्यान कास्कीले जनाएको छ । त्यो मध्ये करिब ५० जना विद्यार्थीहरु नर्सिङ पढ्न त्यहाँ पुगेका थिए । एआइबिटीको नर्सिङ सेक्सनकै कलेजको दर्ता खारेजी भएको हो ।

‘हामीले स्थानियस्तरबाट पनि यो समस्या समाधानका लागि पहल गरिरहेकै छौँ । र, केन्द्रले पनि यो कुरामा सक्रियता देखाएको अवस्थामा समस्याको निकाश चाँडै निस्कनेमा हामी ढुक्क छौँ ।’ इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले भने–‘हामी अष्ट्रेलियामा रहेका विद्यार्थी र नेपालमा रहेका अभिभावकहरुलाई नआत्तिन आग्रह गर्छौँ ।’

इक्यान कास्कीले यहि समस्या समाधानको पहल गर्नका लागि संस्थागत रुपमा उपाध्यक्ष सन्दिप अर्याललाई अष्ट्रेलिया पठाईसकेको छ । उनले त्यहाँ गएर कलेज प्रतिनीधि, अष्ट्रेलियन सरोकारवाला र विद्यार्थीहरुसँग भेटघाट गरि समस्या समाधानको उपाय खोज्ने इक्यान कास्कीले जनाएको छ । उनी अहिले अष्ट्रेलिया पुगिसकेका छन् ।

साथै इक्यान कास्कीले अष्ट्रेलियामा घटेको यो घटना दुखद् भएको बताउँदै आगामी दिनमा संयमित भएर व्यवसाय गर्न शैक्षिक परामर्शदाताहरुलाई आग्रह गरेको छ । दर्ता नभई संचालनमा रहेका शैक्षिक परामर्शदाताहरुलाई जतिसक्दो चाँडै दर्ता प्रकृयामा आउन समेत संस्थाले आग्रह गरेको छ ।

निर्दोषलाई दोषी नदेखाउनुहोला ः इक्यान कास्की

यसैबीच कास्कीका विभिन्न विद्यार्थी संगठनहरुले अष्ट्रेलियाको यो घटनालाई जोडेर गरेको मिडियाबाजीप्रति इक्यान कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।  ‘विद्यार्थी संगठनहरुले अष्ट्रेलियामा विद्यार्थीहरु समस्यामा पर्दा नेपालबाटै यो हिसाबले न्यायका लागि आवाज उठाउनु गज्जबको कुरा हो ।’ इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले भने–‘यद्यपी यसरी मिडियाबाजी गरिरहँदा सत्य र तथ्य बुझेर मात्रै गरिदिनुहुन हामीले आग्रह गर्दछौँ ।’

कास्कीका विद्यार्थी संगठनहरुले निकालेको प्रेस विज्ञप्तीमा कास्कीका विभिन्न शैक्षिक परामर्शदाता कम्पनीहरुको नाम तथ्यहिन हिसाबले उल्लेख गरेको उनले बताए । यसरी प्रेस विज्ञप्ती आउँदा निर्दोषहरुको मानमर्दन हुने कुरालाई ख्याल गर्न इक्यान कास्कीले विद्यार्थी सम्बद्ध संगठनहरुलाई अपील गरेको छ ।

कमेन्टहरु
Loading...