ईन्द्रा क्षत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारद्धारा दुर्गा अधिकारी सम्मानित

पोखरा, १२ पुस/ मानव मिलन नारी जागरण नेपालद्धारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कारबाट रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारी पुरस्कृत भएकी छन् ।

पत्रकारिता र संचारको माध्यमबाट समाजमा पछाडि पारिएका वर्गको सशत्तीकरणमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । अधिकारीलाई पुरस्कृत गर्दै वरिष्ठ पत्रकार तथा पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीले पत्रकारिता क्षेत्रमा कटिवद्ध भएर लागि परेकी दुर्गा अधिकारीको सम्मान एउटा व्यक्तिको मात्र नभएर समग्र पत्रकारिता जगतको सम्मान भएको बताए ।

उनले पत्रकारिता पेशामा निरन्तरता दिइरहेकोमा पनि खुसी व्यक्त गरे । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारिता आफैमा जोखिम पेशा भएको भए पनि त्यो जोखिमलाई अगालेर सफल रुपमा रेडियो सञ्चालन गर्दै सञ्चारको माध्यमबाट आम नागरिकको जीवन परिवर्तनमा लागि परेको भन्दै प्रसंशा गरे ।

सम्मानित व्यक्तित्व दुर्गा अधिकारीले सम्मानले आफ्नो पेशाप्रति अझै जिम्मेवार भएर लाग्ने बताइन् । संस्थाका अध्यक्ष सविता बरालले स्व. इन्द्रा क्षेत्रीको संक्षिप्त जिवनीको बारेमा जानकारी दिइन् । संस्थाका निवर्तमान अध्यक्ष पार्वता पौडेलले पेशाप्रतिको इमान्दारीता र जिम्मेवारीपनाका कारण सम्मानित व्यक्तित्वलार्ई यो स्थानसम्म ल्याएको बताइन् ।

सस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका पुर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, पत्रकार सुश्मा पौडेल, परिवारको तर्फबाट स्व. इन्द्राकी दिदी वेदीमाया कार्की, साहित्यकार तथा लोक गायिका अम्विका भण्डारी, नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, महिला विकासका लागि आमा समुहका अध्यक्ष मेनका बराल लगायतले बधाई दिएका थिए ।

प्रतिभा छनौट समितिका सदस्य निर्मला कार्की भण्डारीले सम्मानित व्यक्तित्वको परिचय दिए । मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशी नगद १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

कमेन्टहरु
Loading...