पोखरा उद्योग वाणिज्य संघमा आएर पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अब देशको नेतृत्व तपाईँहरुले लिनुहोस् ’

पोखरा, ३ फागुन / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापकीय क्षमतासहित राजनीतिक चेत भएका व्यक्तिको हातमा देशको नेतृत्व गएमात्र आर्थिक सम्वृद्धि प्राप्त हुने बताउनु भएको छ ।
‘जुन देशले विकास गरेका छन्,त्यो पोलिटकल इकोनोमिक्स र प्राविधिक दक्षता हाँसिल गरेका व्यक्तिको नेतृत्वको कारण हो’,पोखरा उद्योग वाणिज्य संघले शुक्रबार देशको वर्तमान आर्थिक अवस्थाबारे उहाँसँग गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘राजनीतिक नेताहरुले हिजोको एक कालखण्डमा नेतृत्व गर्नुभयो, आर्थिक क्रान्तिको लागि अबको नेतृत्व व्यवस्थापन र प्राविधिक क्षमता भएका व्यक्तिले गर्नुपर्छ ।’
उहाँले हिजो राजनीतिक नेतृत्व गरेकाहरुलाई पर्याप्त सुविधा दिएर ‘तपाईँहरु अब खानुहोस् र बस्नुहोस् र नयाँ ढंगले अगाडि बढ्न दिनुहोस् भन्ने आवाज निजी क्षेत्र र नागरिकले उठाउनुपर्ने बताउनुभयो । ‘त्यसो भए म पनि आरामसँग बस्छु, म तयार छु’, उहाँले भन्नुभयो,‘अब त्यो क्षेत्रमा अगाडि बढ्नुपर्छ ।’
उहाँले  आर्थिक सम्वृद्धिको सफल नेतृत्व गरेका सिंगापुरका लि क्वान र मलेसियाका महाथिर मोहम्मद व्यवस्थापकीय क्षमताकै कारण सफल भएको दावी पनि गर्नुभयो । उहाँले सबै चिजको गति दिने भनेको अर्थतन्त्र नै भए पनि  देशको अर्थतन्त्र यस्तो स्थिर अवस्थामा रहेकोले विकासमा बाधा परेको तर्क गर्दै नेपालको अर्थतन्त्रको मोडल नै परिवर्तन नगरेसम्म विकास  सम्भव नभएको बताउनुभयो ।
 ‘अहिले संसारमा उदारवाद पूँजिबाद र राज्यनियन्त्रित पूँजिवाद दुबै मोडलले काम गरेका छैनन्, २१ औँ शताब्दीमा दुबै मोडलमा समस्या देखिएका छन्, हाम्रो मोडल दुबै होइन’, उनले भने,‘ हाम्रो मोडल दुबै होइन, अन्तर्राष्ट्रिय रुपमा आर्थिक सम्बन्ध ठीक तरिकाले परिचालन, पूँजी,्रप्रविधी र श्रमशक्तिलाई परिचालन गरेर मात्र आर्थिक सम्वृद्धि प्राप्त हुन्छ ।’
उनले अब कुछुवा गतिमा अगाडि बढेर सम्वृद्धि प्राप्त नहुने बताउँदै नेपाल क्षेत्रीय अवस्था बुझ्ने,आफ्नो हैसियत अनुसार आन्तरिक पूँजी परिचालन र बाह्य लगानी आकर्षित गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको विश्वास नजितेसम्म अर्थतन्त्रको विकास नहुने पनि उहाँको भनाई थियो । व्यवसायीहरुलाई मुनाफा कमाउन बन्देज लगाउन नहुने तर कर तिर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले १८ प्रतिशतसम्मको ब्याजदरले लगानी आकर्षित गर्न नसकिने ठोकुवा गर्नुभयो ।
 उहाँले पुरानो घर, जग्गाजस्ता सम्पत्तिलाई सम्पत्ति नै नभएको बताउँदै अबको जमाना ‘दिमागी पूँजी’को भएकोले अब दिमागलाई नै पूँजी मान्नुपर्ने बताउनुभयो ।  उहाँले उद्योगी/व्यवसायीहरुको नाममा विभिन्न संघ÷संस्था गठनले सिंगो निजी क्षेत्र कमजोर हुने भन्दै एकतावद्ध भएर अगाडि बढ्न सुझाव पनि दिनुभयो ।
‘तपाईँहरुको पनि हाम्रै ताल हो भन्ने लाग्छ, र उद्योग वाणिज्य संघका साथीहरु धेरै समूहमा विभाजन हुनुभन्दा एकै ठाउँमा उभिएर अािर्थक सम्वृद्धिको लागि  उभिनुपर्छ’, उहाँले भन्नुभयो,‘अब देशको नेतृत्व उद्योगी÷व्यवसायी साथीहरुले नै गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले समानान्तर अर्थतन्त्र कायम रहेसम्म देशको विकास असम्भव भएको दावी गर्नुभयो । नेपालमा अहिले करको दायरामा नआएको करिब १३ अर्बको समानान्तर अर्थतन्त्र रहेको बताउँदै उहाँले देशमा डण्डहीनता र भ्रष्टाचार बढाउन यही समानान्तर अर्थतन्त्रले काम गरेको जिकिर गर्नुभयो ।
‘समानान्तर अर्थतन्त्र चलाउनेहरुको राजनीतिक हस्तक्षेप गर्ने हैसियत छ,राष्ट्रपतिले नै भ्रष्टाचार संस्थागत भयो भनेपछि धेरै बोल्न परेन’, उहाँले भन्नुभयो,‘समानान्तर अर्थतन्त्रले भ्रष्टाचार बढाउँछ, भ्रष्टाचार हुँदा सुशासन हुँदैन  सुशासन नभए विकास हुँदैन ।’ राज्यलाई करोडौँ ब्याज नतिर्नेहरु सत्ताधारीको दायाँ र बायाँ बस्ने तर साना लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने सरकारी नीतिले निजी क्षेत्र प्रताडित बनेको उहाँको गुनासो थियो ।
 कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सरकारले सम्वृद्ध नेपाल, सुखी नेपालीको नारा दिए पनि काम गराई भने ठीक नभएको गुनासो गर्नुभयो ।
‘नारा सुन्दा छाति ठूलो बनाउँछौँ तर निजी क्षेत्रलाई तर्साउने काम भएको छ’, उहाँले भन्नुभयो,‘सरकार विकास बजेट खर्च गर्न सक्दैन, तरलता नभएको भन्दै बैंकहरु ब्याज बढाउँछन् र यहाँ कुनै सामानमा केही मूल्य बढ्दा कालोबजारीको आरोप लगाइन्छ तर बैंकले १८ प्रतिशत ब्याज लिँदा कालोबजारी हुँदैन ?’
 उहाँले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संरक्षण मात्रै गरेको र निजी क्षेत्रलाई निरुत्साहित गरेको बताउँदै उहाँले जनमुखी  कार्यक्रम घोषणा गर्दै जाने तर अर्थतन्त्रको आकार बढाउन ध्यान नदिने प्रवृत्तिमा सुधार ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
 कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले युवा पलायन रोक्न र देशमै रोजगारीको सृजना गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनपछि आर्थिक मुद्धाले प्राथमिकता पाउनुपर्नेमा त्यसो हुन नसकेको र अर्थतन्त्रका सूचांकहरु निराशासनक हुँदा लगानी आकर्षित हुन नसक्ने उहाँको तर्क थियो ।
संघका महासचिव अर्जुन पोखरेलले नेपालको निजी क्षेत्र सरकारलाई सघाउन र आर्थिक विकासका एजेण्डाहरुमा सहकार्य गर्न तयार रहेको बताउँदै निजी क्षेत्रका सुझावहरुलाई सरकारले नजरअन्दाज गरेको गुनासो गर्नुभयो । उहाँले लगानीको उचित वातावरण निर्माण भए निजी क्षेत्र उत्पादनशील क्षेत्रमा लगानी गर्न तयार रहेको उल्लेख समेत गर्नुभयो ।
कमेन्टहरु
Loading...