प्रदेशी भाइको चिठी दिदीलाई

(तिज बिशेष​ पुन: प्रकाशन )

कृष्ण आचार्य रचित

पुज्यनीय दिदी सास्टाङ्ग सेवा ढोग ! आराम छु आरामताको कामना गर्दछु । खासै लेख्नै पर्ने नविन समाचार त केही पनि थिएन तर पनि दिदी किन किन तिम्रो यादले यो मन छटपटाउन थाले पछि यो पत्र कोर्दैछु । दिदी मैले तपाइलाई तिमी नै भनेर सम्बोधन गर्न निकट ठाने । तपाइ भन्दा त निकै पर पु¥याए जस्तो लाग्यो ! त्यसैले तिमी नै भनेर सम्बोधन गर्दैछु अन्यथा नलिनु होला । दिदी नेपाली नारीहरुको महान पर्व हरितालिका तीज यति बेला घर आगनमा आइपुग्नै लागेछ तर के गर्नु दिदी तिम्लाई लिन आउने मेरो चाहाना यसपालि पनि पुरा नहुने भयो । सात समुन्द्र पारी रहे पनि किन किन दिदी आज तिम्रो याद आइरहेछ, सायद तिज आएर होला !

कति रमाइलो थियो है दिदी हाम्रो बाल्यकाल दुइ दिदीभाई हामी कम्ता त मिल्दैनथ्यौ र झगडा पनि उत्तिकै गथ्र्यौ , संगै भयोकी सानो सानो निहु झिकेर झगडा गरिहाल्नुपथ्यो हामीलाई ! तर फेरी एक छिन पनि छुटिएर बस्न सक्दैनथ्यौ । एउटा नहुदा अर्कोलाई छटपटाहट सुरु भइहाल्थ्यो । त्यही भएर बुवा आमाले भन्ने गर्नुहुन्थ्यो यिनीहरुका दिदीभाई संगै भए पनि मिल्दैनन छुटिएर बस्न पनि सक्दैनन । सच्चै दिदी माया भनेकै त्यही रहेछ क्यारे ! आज धेरै वर्ष बितेछ तिमी घरबारे भएकी छौ, चाहेर पनि जन्म घरमा आउन पाउदिनौ र म पनि त्यस्तै त भएको छु नी दिदी । तिम्रो बिहे भए पछि प्रदेश हिडेको आज सम्म घर फर्केको छैन ।

वर्षेनी तिज आउदा मुटु भक्कानो परेर आउछ । तिजमा तिमीलाई लिन जाने र मिठो मिठो खाएर तिज मनाउने मेरो चाहाना पुरा भएको छैन । तिम्रो बिहेको दिनमा तिमीलाई डोली दिदै गर्दा अंगालो हालेर रुदै भन्दै थियौ “मेरो भाई अब यो घरमा भोली देखि तिमी एक्लै हुने छौ मेरो अभावमा ! तिजमा त जसरी पनि लिन आउनु है ।” त्यो बेला मेरो मन एक तमासाको भएको थियो , मैले केही बोल्न सकिरहेको थिईन टाउको मात्रै हल्लाएर तिमीलाई बिदाइ गरेको थिए । आज चार बर्ष बितीसकेछ तिमीलाई तिजमा लिन जान पाउनु त परै जाओस देख्नसम्म पनि पाएको छैन ।

आमाले ठिक्क बनाइदिनुभएको अनादीको चामल, सेती भैसीको घिउ र तिजलाई भनेर सांचेर राखेको कांक्रो बोकेर तिम्रो घर सम्म पुग्ने र तिमीलाई तिजमा माइतीघर ल्याउने मेरो चाहाना सपना मात्र भएको छ तर पनि मलाई लिन आएनस भनेर माइत नजाउलीनी दिदी फेरी ! तिमीलाई त थाहा छदैछनी बाबा आमा बुढावुढी भइसके लिन आउन सक्दैनन तिम्रो अभागी भाई क्याम्पस पढ्न जानुपर्ने बेलामा गरिबीले गर्दा साहुको ऋण तिर्न अर्काको देशमा कुकुरझै मरी मरी दुखः गर्दैछ । दिदी जसरी भएपनि यो तिजमा बाबा आमालाई भेट्न पुग ल ।

हुन त दिदी तिजमा लिन आउन नसके पनि एक्काइसौ शताब्दीको जमाना छ फोन गर्न सक्थिस स्काइपमा पनि आउन सक्थिस भन्नुहोला, तर किन किन यो मनले ती कृतिम बस्तुलाई आफ्नो ठान्दै ठानेन, फोनमा आउने आवाजलाई आफ्नै दिदीको आवाज हो जस्तै मानेन र स्काइपमा आउने तिम्रो अनुहारमा प्राकृतिक रुपनै भेट्न सक्दिन जस्तो लाग्यो दिदी त्यसैले तिमीले नै लेख्न सिकाएका यी अक्षरहरुले तिमीलाई लिन आउदैछन अन्यथा नसोच है दिदी । त्यो बेला मैले पढ्न लेख्न नमान्दा तिमीले कान समाउदै मायाले गालामा थप्पड लगाउदै अक्षर लेख्न सिकाएकी थियौ । आज तिनै अक्षर भाई बनेर तिमीलाई लिन आउदैछन ।

त्यो बेला दिदी तिमीले कान समातेर गालामा चड्काउदा मलाई कम्ता रिस उठेको थिएन , मैले लेख्दिन अब त आफै लेख , भन्दै तिमीलाई पिटेर उल्टै बुवा आमाको गाली खुवाउदा पनि तिमीले मलाई लेखन सिकाउन छाडेकी थिइनौ । त्यही तिम्रो मेहनेत आज तिमीलाई लिन आउदैछन तिम्रो भाइ बनेर अक्षरको माध्यामबाट । त्यो बेला तिमीले मायाको थप्पड पो हानेकी रहेछौ आज बुझ्दै छु ।आज त दिदी तिमीले दिएको थप्पडमा जस्तै माया भएका थप्पडको त कुरै छाडौ पराइका निरमोही बचनरुपी थप्पड खाने बानी परेको छ । त्यही पनि चुपचाप सहनु बाहेक म संग कुनै बिकल्प छैन न त बुवा आमालाई कुरा लगाउनै पाउछु ।

आज ७ समुन्द्र पारी यो अर्काको भुमिमा बसेर पराइको गुलामी गर्दा आफ्ना आफन्त पनि बिरानो हुन लागीसके चाडबाड आए संगै यो मनमा भुईचालो जान थाल्छ, आँधी आउन थाल्छ तर पनि के गर्नु दिदी फर्केर आंउ भने साहुको ऋण तिर्नुछ । बुढा बाबा आमालाई एक्लै छाडेर यो परदेशी भुमिमा बस्न कस्लाई पो रहर हुन्छ र तर पनि के गर्नु बाध्यता सबै भन्दा ठूलो हुँदो रछ दिदी ! तीन वटा तिहार पनि तिमीले टोलाएर बितायौ होला तिज आए संगै सवैका भाइहरु दिदी लिन आउदा तिमीलाई कस्तो भाको छ , त्यो म अनुमान गर्न त सक्छु तर के गर्नु दिदी चाहेर पनि तिमीलाई लिन आउन भने सक्दिन ! यस्ता गनथनहरु अब कति गरौ जति गरे पनि अधुरै हुन्छ ।

अनि भिनाजुको खबर के छ नि दिदी बिदेश तिरै हुनुहुन्छ होला क्यारे ! कहिले आउछु भन्नु भएको छ ? पहिले पहिले त स्काइपमा अक्कल झुक्कल भेट हुन्थ्यो आज भोली ब्यस्त भएर होला सम्पर्कमा हुनुहुन्न । अनि भान्जा पनि एक वर्षका भइसके कस्ता भएका छन नि दिदी ! के गर्नु भान्जालाई देख्ने रहर पनि अझै अधुरै छ । समय मिलेछ भने यो पालीको दशै सम्म स्वदेश फर्कन्छु होला । तिजमा तिमीलाई लिन आउन नपाए पनि तिहारमा तिम्रो हातको टिका थाप्न पक्कै पाउनेछु र प्यारा भान्जालाई काखमा लिएर खेलाउने रहर पक्कै पुरा हुनेछ ।

तिजमा जसरी पनि माइती घरमा पुग है दिदी, हुन त एकल सरी मान्छे, सासु ससुरा बुढावुढी भइसके घरमा पालेका बाख्रा भैसी र खेतीपातीको झण्झट पनि छ होला, जे भए पनि मिलाएर दुुई, तिन रातका लागी मात्र भए पनि माइतीघर पुग है नत्र बुवा आमाले नरमाइलो मान्नेछन । गाउ छिमेकका सवै दिदी बहिनीसंग पनि पक्कै भेट हुनेछ । उनीहरुलाई पनि मेरो तर्फबाट लामो सम्झना सुनाइदेउ ल ! पल्लाघरे कमला दिदी तपाइकी मिल्ने साथी सुचना दिदी , माथी घरकी लक्ष्मी दिदी अनि मेरा साथीहरु सीता, आराती र कल्पनाहरु पनि पक्कै आउनेछन । सवैलाई धेरै सम्झना भन्दिनु नी !

अनि चमेलीसंग पनि भेट भयो भने धेरै धेरै सम्झेको छ र प्राणभन्दा धेरै माया छ रे भन्दिनु ल ! दिदी तिमीले बुहारी बनाउछु भन्थ्यौनि तर के गर्नु दिदी अझै सम्म पनि चमेली तिम्री बुहारी भएर त्यस घरमा आउन त पाएकी छैन तर पनि हाम्रो परिवारले उनलाई पहिल्यै बुहारी स्वीकारेको हो । अब आएपछि उनलाई बुहारी बनाएर भित्रयाउनु छ । दिदी अब कति गनथन गरौ समयले साथ दिएछ भने नेपालीहरुको महान चाड वडा दशैमा हाम्रो भेट हुनेछ । तिहारमा तिम्रो हातको सप्तरंङ्गी टिका र तिमीले उनेको कहिल्यै नओइलाउने मखमली फुलको माला यो पटक पक्कै लाउन पाउनेछु । ल त दिदी आजलाई यति नै अरु गनथन भेटमा नै गरौला !
तिम्रो उही अभागी भाई सात समुन्द्र पारीबाट …………………………….

कमेन्टहरु
Loading...