गण्डकी प्रदेशमा सपथग्रहणको लागि मनाङेले दिए निवेदन

पोखरा, १२ पुस /सर्वोच्चको आदेशमा अघिल्लो साता मात्रै थुनामुक्त भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन् । मनाङेको प्रतिनिधिले बिहीबार प्रदेशसभामा लिखित निवेदन दिएका हुन् ।

प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने विषयको निवेदन प्रदेशसभा सचिवालयमा दर्ता जानकारी दिए ।  निवेदन दर्ता भएता पनि बाँकी प्रक्रिया भने कानुन अनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुन अनुसार नै हुन्छ’ उनले बताए ।

गतवर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा उनले मानङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनले निर्वाचन जितेता पनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिएका छैनन् । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले मुद्दा फैसला नभएसम्म सपथ लिन नमिल्ने बताएका छन् ।

‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होईन,’ उनले भने, ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे ।’ गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिना जानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ । तर, प्रदेशसभामा सपथ नलिएका कारण मनाङेको पद भने गएको छैन ।

कमेन्टहरु
Loading...