कास्की काँग्रेसद्वारा विद्यार्थी नेता रिहाईको माग

पोखरा, २० माघ / नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार पक्राउ गरिएका नेवि संघका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ ।

प्रदर्शनमा उत्रेका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल ससम्मान रिहाई गर्न माग गरेको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेताहरुलाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

नेवि संघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनीक विदाको दिन शनिवार भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले माघ २१ गते सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारीमा पूरा भएको छ ।

पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगाहुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागि हुन आग्रह गरेका छन् । कोणसभालाई काँग्रेस नेता गगन थापाले सम्वोधन गर्ने छन् ।

माघ १३ गतेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गरिदै छ ।

कमेन्टहरु
Loading...