काँग्रेस नेता तथा व्यवसायी अधिकारीको निधन

पोखरा, ७ कात्तिक । नेपाली काँग्रेसका युवा नेता साविक लेखनाथ नगरपालिका वडा नं १७ का सभापति एवम् पोखरा महानगरपालिका वडा नं ३३ का सह संयोजक सरोजराज अधिकारीको निधन भएको छ ।

मनाङ भ्रमणमा जाने क्रममा स्वास्थ्यमा समस्या आई उहाँको निधन भएको हो । अधिकारीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, पार्टीका जिल्ला सभापति कृष्ण केसी, सचिवद्वय सुदिपमोहन भट्टराई र देवेन्द्र रानाभाट, राष्ट्रिय सभा सदस्य बृन्दादेवी राना, महासमिति सदस्यहरू देबराज चालिसे, केशरप्रसाद निर्दोषी, गिरिराज गौतम, प्रदेश सभा सदस्य विन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्य लगायतले श्रद्धाञ्जली दिनुभयो ।

उहाँको आजै पशुपतिघाटमा अन्तिम संस्कार गरिएको छ । युवा उद्यमी अधिकारी चिर्गादी बोर्डिङ स्कुलका सञ्चालक समिति र सेती रिभर साइड रिर्सोट सञ्चालक समितिको अध्यक्ष, समृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सनराइज डेरी उद्योगका सञ्चालक, सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार, लेखनाथ उद्योग वाणिज्य संघको सदस्य लगायतका जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसैबीच नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ इकाई समितिले आजै आकस्मिक बैठक बसी अधिकारीको निधन प्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेको छ । पार्टीका वडा इकाई संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले १३ दिनसम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

आगामी कात्तिक १९ गते स्व.अधिकारीकै निवासमा पार्टीले श्रद्धाञ्जली सभा गर्ने भएको काँग्रेस नेता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले आजै शोक वक्तव्य जारी गरी स्व. अधिकारीको निधनले पार्टीमा अपुरणीय क्षति भएको उल्लेख गर्दै उहाँ प्रति श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

कमेन्टहरु
Loading...