मुख्यमन्त्री कप अन्तरप्रदेश क्रिकेटमा गण्डकी प्रदेशको विजयी शुरुवात

धनगढी, ३० फागुन /धनगढीमा शुरु प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बिहीबार प्रदेश नं ५ लाई पराजित गर्दै गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ ।

सन्तोष न्यौपाने, कप्तान विधान श्रेष्ठ, मन्जिल न्यौपाने ( नटआउट) र किशोर महतोले दोहोरो अंकको स्कोर तयार पार्दै गण्डकी प्रदेशले प्रदेश नं ५ लाई ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सन्तोष न्यौपानले १३ रन बनाउने क्रममा २९ बल खेल्दै आउट भए । विधान भने २२ बलमा १८ रन जोडे । उनले तीन चौका प्रहार गरेका थिए । मन्जिल न्यौपाने नटआउट रहदै २२ बलमा १५ रन खेलिरहे । किशोर महतोले १५ बलमा १९ रन हान्दै उत्कृष्ठ व्याटिङ गरे । उनले दुई चौका प्रहार गरे ।

अन्य व्याट्सम्यानले भने दोहोरो अंकको रन बनाउन सकेनन् । गण्डकी प्रदेशले ८ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै ८७ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रदेश ५ का कृष्ण कार्की ४ ओभरमा २३ रन दिदैं ३ विकेट लिए । रुपेश कुर्मीले १९ रन दिदैं २ विकेट आफनो नाममा लेखाए ।

८७ रनको लक्ष्य पछ्याएको प्रदेश नं ५ केवल ३० रनमै अलआउट हुन पुग्यो । ५६ रनको जित निकाल्ने क्रममा विपिन खत्रीले ४ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै केवल ७ रनको खर्चमा ४ विकेट लिएपछि प्रदेश नं ५ धरासायी बन्न पुग्यो । राजु गुरुङले दुई विकेट लिने क्रममा ४ ओभरमा २ मेडन राखे भने केवल ३ रन खर्चिए । खेलमा म्यान अफ दि म्याच विपिन खत्री घोषित भए ।

कमेन्टहरु
Loading...