चर्को मूल्‍य असुल्‍ने दरबारमार्गका चार स्टोरमा सिलबन्दी

काठमाडौं, २२ भदौ /खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट चर्को मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा सिलबन्दी गरेको छ। यसअघि गत सोमबार दरबारमार्गकै अन्तर्राष्ट्रिय ब्राण्डका आठवटा शोरुममा छापा मारी शोरुममा शिलवन्दी गरिएको थियो। राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्।

आपूर्ति विभागमा महानिर्देशक कुमारप्रसाद दाहालकाअनुसार रिवुक ब्राण्डको जुत्ता, टिसर्ट र लिवाइज ब्राण्डको जिन्सको पाइन्ट बिक्री गर्ने दरबारमार्गको लेबल्स स्टोर प्रालि, बोसनी ब्राण्डको टिसर्ट बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालि, राडो ब्राण्डको घडी बिक्री गर्ने सुलक्स सेन्टर तथा अर्को घडी स्टोर वाच एण्ड सि भन्ने शोरुममा अनुगमन टोलीले शिलवन्दी गरेको हो।

‘खरिद मूल्यभन्दा दुई दोब्बरभन्दा बढी मुनाफा राखेर लत्ताकपडा, जुत्ता र घडी बिक्री गरेकाले शिलवन्दी गरेका छौं,’ दाहालले भने, ‘सरकारले खरिद मूल्यमा २० प्रतिशत रकम थप गरेर मात्रै मुनाफा लिने व्यवस्था गरेको छ।तर व्यापारीले अन्तर्राष्ट्रिय ब्राण्डको नाममा अढाई दोब्बर मूल्य असुल गरेको पाइयो।’

विभागकाअनुसार भ्याटसहित पाँच हजार २५ रुपैयाँ खरिद मूल्य रहेको लिवाइज ब्राण्डको पाइन्टलाई लेबल्सले नौं हजार सात सय ९० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो। सोही शोरुमले बिक्री गर्ने भ्याटसहितको तीन हजार पाँच सय ७० रुपैयाँ खरिद मूल्य भएको लिवाइज पाइन्टलाई सात हजार ६ सय ९९ मा बिक्री गर्ने गरेको फेला पारिएको छ।

रिबुक ब्राण्डको जुत्ता र टिर्सटको कारोबार गर्ने लेबल्सले नै दसैं तिहारको अवसर ३० प्रतिशत छुटको नाममा एक हजार सात सय ५४ रुपैयाँ बिक्री मूल्य भएको रिबुक ब्राण्डको टिसर्टलाई ३० प्रतिशत छुट दिएर दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।

‘तर शोरुम सञ्चालकले उक्त ब्राण्डको टिसर्टको बिक्री मूल्य तीन हजार सात सय ५० रुपैयाँ राखेर ३० प्रतिशत छुट भन्दै दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको पाइयो,’ महानिर्देशक दाहालले भने,‘उक्त शोरुमले नियमभन्दा बढी नाफा जोडेर उपभोक्ताबाट रकम असुल गरेको प्रस्ट हुन्छ।’

सोही शोरुमले १६ हजार चार सय ९० रुपैयाँ खरिद मूल्य भएको रिवुक क्रस फिट नाम गरेको जुत्ता सात हजार ६ सय १५ मा बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो। अनुगमन टोलीले उक्त शोरुमबाट रिबुक टिर्सट र सोही ब्राण्डको जुत्ताको नमूना लिएर शोरुममा शिलवन्दी गरेको छ।

अनुगमन टोलीले लाइन्स स्टाइल इन्टरप्राइजेजले नौं सय २५ रुपैयाँ खरिद मूल्य भएको बोसनी ब्राण्डको टिसर्टलाई एकहजार आठ सय ९९ मा र ३० प्रतिशत छुटको नाममा सोही टिसर्ट एक हजार तीन सय ३० मा बिक्री गरेको र खरिद मूल्य एक हजार ६ सय ४५ भएको सर्टलाई तीन हजार ६ सय ९९ मा बिक्री गरेको पनि फेला पारेको छ।

 

कमेन्टहरु
Loading...