पोखराको चरक मेमोरियल हस्पिटलमा सञ्चालकबीच विवाद, नयाँ प्रोजेक्ट नै अलपत्र

पोखरा, २८ पुस /सञ्चालकहरु बिच विवादका कारण पोखराको पृथ्बीचोक स्थित चरक मेमोरियल अस्पतालको नयाँ प्रोजेक्ट अलपत्र परेको छ । लामो समयदेखि सेयरधनीहरुको आपसी विवादले अस्पतालको नयाँ बन्दै गरेको भवन अलपत्र परेको हो ।

बैंशाखदेखि निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि ६ महिना अघि देखिको किचलोका कारण निर्माण कम्पनीको भुक्तानी समेत रोकिएको छ । सेयरधनीको विवादका कारण पोखराको नागढुंगामा बन्दै गरेको नयाँ भवन निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनको भुक्तानी समेत ४ महिनादेखि रोकिएको छ ।

लगानीकर्ताको आपसी विवाद बाहिर आएपछि बैंकले लोन समेत रोकेको छ । बिद्युत लाइन जडान, अक्सिजन पाइप जडान लगायतका आन्तरिक काम पनि बाँकीनै छ । ‘महिनामा झण्डै दिनहु बैंठक हुन्छन् सबै बैंठक आपसी कलहमै सकिन्छ,‘ स्रोतले भन्यो ।

सेयरधनीको आपसी विवादको कारण नागढुंगामा बन्दै गरेको पोखराकै अत्याधुनिक अस्पताल भवन अलपत्र छ । लगानीकर्ताको विवादपछि बैंकले लोन रोक्का गरेको छ । सेयरधनी चिकित्सकहरु एकले अर्कोलाई पेल्न खोज्दा चरक मेमोरियल अस्पतालको ड्रिम प्रोजेक्टमा धक्का लागेको छ ।

पोखरामै अन्तराष्ट्रिय स्तरको उपचार सेवा प्रदान गर्ने उद्देश्यले झण्डै दुई बर्ष अघिदेखि सुरु भएको ७ तले भवन निर्माण कार्य अझै जारी छ । करिब ५० करोड लागत अनुमान सहित सुरु गरिएको एक सय शैयाको अत्याधुनिक अस्पताल निर्माण लगानीकर्ताकै विवादले पर सरेको हो । आपसी विवाद कायमै रहेमा स्वमं सेयरधनीहरुनै मर्कामा पर्नेछन् । भवनको शिरानमा हेलिप्याड, अन्डरग्राउण्ड पार्किंग, एसी सहितका सुइट र डिलक्स रुम सहित थप विशेषज्ञ चिकित्सकको अत्याधुनिक सेवा दिने गरी हालको चरक मेमोरियल अस्पताल पृथ्बीचोकबाट नागढुंगा स्थित नयाँ भवनमा सार्ने लक्ष्य राखिएको हो ।

सेयरधनीहरुले रिसिइबी मोल्दै आफ्नै लगानीको ड्रिम प्रोजेक्ट पर धकेलिरहेको स्रोतले बतायो । ‘हुन त यो ब्यक्तिगत रिसिइबी र मनमुटाब नभई अस्पतालकै सेवा प्रवाहका विषयमा देखिएको विवाद हो । तर सामान्य विषयलाई सुल्झाउन नसक्दा करोडौंको प्रोजेक्ट पर सर्दैछ,’ स्रोतले भन्यो ।

विशेष गरी अस्पतालका सेयरधनी मध्येका डा. ऋषीराम ढकाल र डा. बद्री पौडेल विचमा देखिएको आपसी मनमुटावले उग्ररुप लिएपछि ड्रिम प्रोजेक्ट पछि धकेलिदै गएको हो । केहिदिन अघि ढकाललाई पौडेल पक्षले कुटपिट गरेको आरोप लागेपछि आपसी विवाद झन् उग्र बनेको छ ।

६ महिना देखिको कलह के थियो ?

अस्पतालको विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार ढकाल र पौडेल समुहको आपसी विवाद झण्डै ६ महिना अघिदेखिनै सुरु भएको थियो । अस्पतालको सेवा विस्तारसँगै अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्य सहित नयाँ बन्दै गरेको भवनमा सरेपछि दिइने सुविधा र चिकित्सकका विषयबाट उनीहरु विच मनमुटाव सुरु भएको हो ।

विस्तारित थप सेवा सहितको अस्पताल नयाँ भवनबाट सञ्चालनमा आएपछि मेजर सर्जनको रुपमा डा. दिगविजय सहित अन्य विशेषज्ञ चिकित्सकलाई ल्याउने पौडेलको प्रस्तावप्रति ढकालले असहमति राखे । त्यसपछि हाल ब्यक्तिले सञ्चालन गर्दै आएको ल्याब र फार्मेसी अस्पतालले सञ्चालन गर्ने ढकालको प्रस्ताबलाई पौडेलले नकारे । एकले अर्काको प्रस्ताब लत्याउने र समस्या समाधानको साटो मुख फर्काएर हिड्ने प्रबृतिले अन्य सेयरधनीको लगानी समेत जोखिममा पारेको स्रोत बताउछ ।

अन्य विशेषज्ञ चिकित्सकलाई लाएपछि आफु छायामा पर्ने डरमा ढकाल रहेको पौडेल पक्षको आरोप छ । ढकाल पक्षले भने पौडेललाई ल्याव र फार्मेसीको कमिसन खाएको आरोप लगाएका छन् । अस्पतालको ल्याव र फार्मेसी हाल रामचन्द्र रेग्मी र कपिल पोखरेलले सञ्चालन गरिरहेका छन् । पौडेल पक्षले भने हाल अस्पतालको नयाँ भवन सहित थप सेवा सुविधाका साथ ड्रिम प्रोजेक्ट तयार हुदै गरेको अबस्थामा ल्याव र फार्मेसीका लागि तत्काल लगानी गर्न नहुने अडान लिएका छन् । स्रोतका अनुसार अस्पतालले ल्याव र फार्मेसी आफै सञ्चालन गर्नु परेमा झण्डै थप ५ करोड लगानी गर्नुपर्नेछ ।

अस्पतालमा हाल १७ जना सेयरधनी छन् । जस मध्ये ढकालको पक्षमा १२ जना र अन्य पौडेलको पक्षमा छन् । अस्पतालको कुल सेयर मध्ये ऋषी पक्षको झण्डै ५१ प्रतिशत छ । डा. ऋषीले डा. बद्रीलाई आउट गर्न खोजेपछि बद्रीले राजेन्द्र नेपाली र अर्का एक जना गरी दुई जनाको सेयर तोकिएको भन्दा दोब्बर रकम तिरेर खरिद गरेका थिए । झण्डै तीन महिना अघि मात्रै डा. ऋषीले १२ बुदे अविश्वासको प्रस्ताव पेश गर्दै बोर्डबाट राजिनामा दिएका थिए । उनको अविश्वास प्रस्तावपछि डा. बद्रीले बोर्ड छाडे र ऋषी समुहको बाहुल्य सहित नयाँ बोर्ड बन्यो ।

त्यसपछि डा. ऋषीले ल्याव र फार्मेसी अस्पताललेनै चलाउने निर्णय गरेपछि डा. बद्री र उनी पक्षधर आक्रोसित भए । स्रोतका अनुसार यसबारे असन्तुष्ट पक्षसँग ऋषीले थप छलफल गर्न चाहेनन् । धेरै दिनसम्म उनीसँग कुरा हुन नसकेपछि एकदिन ओपिडी छिरेका बेला पौडेल समुहले छलफलका लागि आग्रह गरेको थियो । ल्याव र फार्मेसी अस्पतालले चलाउने भन्दै चिठ्ठी काटेपछि ल्याव सञ्चालक सहित डा. बद्रीले छलफल गर्न खोज्दा ढकाल तर्किएपछि घटना भएको स्रोतले बतायो । पिसपोखराले यो खबर लेखेको हो ।

कमेन्टहरु
Loading...