पोखरा रंगशाला फुटबल मैदानको घाँससहितको चपरी कोलकत्ताबाट आउँदै

पोखरा, ५ असोज/ निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदानको लागि आवश्यक घाँससहितको चपरी भारतको कोलकत्ताबाट लोड गरिएको छ । दशैं अगाडि नै घाँससहितको चपरी पोखरा आईपुग्ने छ ।

केही दिन अघिमात्रै जर्मनबाट एथलेटिक्स ट्रयाकको लागि आवश्यक सामान आईपुगेको छ । एथलेटिक्स ट्रयाक अहिले सिन्थेटिक बनाईने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ ।ट्रयाक कालोपत्रे पीच गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ ।

पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)ले काम गरिरहेको छ । गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो ।

कृत्रिम घाँस र प्राकृतिक घाँसे मैदान बनाउने भन्ने लामो समयको विवादपछि प्राकृतिक मैदान बनाउने निर्णय गरिएको थियो । निर्णयसँगै प्राकृतिक घाँस भारतको कोलकत्ताबाट ल्याईने निर्णयसँगै घाँस लोड गरिएको छ । लोड गरिएको घाँसको चपरी ७ दिनमा पोखरा आईपुग्ने छ । चपरीको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(इन्जिनियर) प्रनिस ताम्राकारले घाँस निरीक्षण गरी फर्किएका छन् ।

पोखरा रंगशाला फुटबल मैदानको घाँससहितको चपरी कोलकत्ताबाट आउँदै
पोखरा रंगशाला फुटबल मैदानको घाँससहितको चपरी कोलकत्ताबाट आउँदै

‘घाँसको टुक्रा टुक्रा चपरी बनाई निकालिएको छ । निकालिएको चपरीलाई ट्रकमा लोड गरिदैं छ ।’ निरीक्षण गर्न पुगेको इन्जिनियर ताम्राकारले भने–‘असोज १ गते कोलकत्ताबाट हिड्छ ।’ यद्यपी बाटोमा समस्या नआएको अवस्थामा कोलकत्ताबाट हिडेको एकसातामा पोखरा आईपुग्ने अनुमान गरिएको छ । एउटा घाँसको चपरी २.५ फिट चौडाई र ४ फिट लम्बाईको छ । १० स्क्वायर फिटको चपरीलाई ट्रकमा लोड गरेर ल्याउने उनको भनाई थियो ।

पोखरा रंगशाला ९० हजार स्क्वायर फिटको छ । त्यस अनुसार ९ हजार चपरीको टुक्रा आउने छ । छ वटा ट्रकमा चपरी लोड भएर आउने छ । चपरी आईसकेपछि मैदानमा विछ्याएर रोल गरिने छ । घाँससहितको चपरी मैदानमा सर्न एक महिना लाग्ने अनुमान गरिएको छ । रंगशालाको फुटबल मैदान यतिबेला बालुवा राखेर सम्याउने काम गरिदैं छ । ‘एकसाताभित्रमा माटो हालेर जमिन सम्याई सक्ने छौं ।’ कम्पनीका प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘घाँसको चपरी आउनु अघि मैदान तयार भईसक्ने छ । चपरी आउने वित्तिकै विछ्याउने काम गर्छौ ।’

मैदानसँगै सिटको लागि आवश्यक फाउण्डेशन तयारी गरिदैं छ । सिटको सामान फ्रान्सबाट आउने छ । फ्रान्सबाट प्राविधिक टोलीले अध्ययन गर्न आउने कम्पनीले जनाएको छ । सिट दुई महिनाभित्र आएपछि बढीमा १५ दिनभित्रमा जोडिसक्ने योजना कम्पनीको छ । १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कार्तिक १५ भित्रमा सक्ने बोर्डनलाईन तय गरिएको छ ।

कमेन्टहरु
Loading...