बनारस र लखनउमा चलिए पोखरा

बनारस, १६ चैत /उत्तर भारतका दुई ठूला शहर बनारस र लखनउका बासिन्दालाई पर्यटकीय शहर पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । चलिय पोखरा अभियानको क्रममा यहाँ आईपुगेको पोखरेली होटलकर्मीको टोलीले मंगलबार उक्त निम्ता प्रदान गरेको हो । धार्मिक तथा शैक्षिक हिसाबले महत्वपूर्ण बनारसमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन ब्यबसायी र संचारकर्मीले पोखरा सम्बन्धी जिज्ञासा राखेका थिए ।

बनारस र लखनउमा चलिए पोखरा
बनारस र लखनउमा चलिए पोखरा

बाराणासी होटल संघका अध्यक्ष देवेन्द्रनारायण सिङले पोखरा सम्बन्धी थुप्रै जानकारी पाएकोमा खुशी ब्यक्त गरे । नेपालीको इमान्दारिताको पनि उनले प्रशंसा गरे । नेपालसँग भारतको पुरानो र नजिकको सम्बन्धले पर्यटनमा थप उर्जा प्रदान गर्दै आएको उनले बताए ।

यसैगरी लखनउका पर्यटन ब्यबसायीले भारतीय पर्यटक बहाक सबारीलाई नेपाली नाकामा सहज प्रवेशको ब्यवस्था गर्न माग गरेका छ्न् । चलिय पोखरा अभियान अन्तर्गत सोमबार होटल दीप प्यालेसमा आयोजित कार्यक्रममा भारतीय ब्यबसायीले नाकामा नेपाल प्रवेश सहज भए पर्यटक पठाउन खासै समस्या नभएको बताए । ट्राभल ब्यबसायी सुशील तिवारीले नेपाल प्रबेशमा कुनै समस्या परे त्यसको समाधानको लागि कुनै हटलाईन टेलिफोन नम्बर ब्यवस्था भए सहज हुने सुझाव राखे ।

सो अवसरमा भैरहवाका पर्यटन ब्यबसायी सागर अधिकारीले नेपाली सवारीलाई भारत प्रवेशमा झनै समस्या भएको स्मरण गराउँदै सार्क देशका सवारीलाई एक अर्को देश प्रवेश ब्यवस्था छिटै सहज हुने बिश्वास ब्यक्त गरे । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले चलिय पोखराअभियान बारे प्रस्ट पार्दै लखनउबासी र बनारस बासिलाई पोखरा भ्रमणको निम्ता दिए । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले नेपाल र पोखरा सम्बन्धी जानकारी प्रस्तुत गर्दै भारतीय नागरिकलाई पोखरा भ्रमणको निम्ता दिए ।

मन्त्रीहरु राजपाल कश्यप र नफिस अहमदले पोखरा सम्बन्धी तस्वीर र दृश्य हेरेपछि लखनउबासीलाई पोखरा घुम्न आग्रह गरे । उनिहरुले नेपाल भारत सम्बन्धबारे बोल्दै आफुहरुले सधैं नेपालीको सुख दुखमा साथ दिने बताए । श्रम बिभागकी सचिव बन्दना प्रसाद, समजबादी पार्टीका नेताहरु उदयवीर सिंह र अरिफ हसमीले पनि कार्यक्रममा पोखरा घुम्न आफुहरु आतुर रहेको बताए । पश्चिमाञ्चाल होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उत्तर भारतमा चलिय पोखरा अभियान संन्चालन भैरहेको छ ।

कमेन्टहरु
Loading...