पोखरामा मुटु उपचार केन्द्र स्थापना गर्न रोटरी र प्रतिष्ठान बीच सम्झौता

पोखरा, २२ असार /रोटरी क्लबले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु उपचार केन्द्र स्थापना गर्न सम्झौता गरेको छ । गण्डकी अस्पतालमा स्थापना गर्ने केन्द्रका लागि एक वर्षभित्रमा आवश्यक उपकरण उपलब्ध गराउन आवश्यक सम्झौता गरिएको हो ।

सम्झौता अघि आवश्यक पुर्वाधार भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बनाईसक्ने छ । मुटु उपचार केन्द्र छिटोमा यही सेप्टेम्बर ढिलोमा जूनसम्ममा उपकरण झिकाई सेवा शुरु गरिने छ । रोटरी क्लब मुटु उपचार केन्द्रका संयोजक बावुराम बराल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता गएको जेठ महिनामा गरिएको थियो ।

पोखरामा स्थापित ७ वटा क्लबहरुले संयुक्त रुपमा मुटु उपचार केन्द्र स्थापना गर्ने छन् । त्यसको लागि आवश्यक क्याथ ल्याब(Cath Lab) मेशिन रोटरीले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । मेशिनको ५ करोड रुपैयाँ पर्छ । मेशिनको लागि आवश्यक रकम संकलन शुरु गरिएको रोटरी क्लब मुटु उपचार केन्द्रका संयोजक बरालले बताए ।

‘लगानीको ५० प्रतिशत लागत रोटरी फाउण्डेशनले व्यहोर्ने छ । बाँकी ५० प्रतिशत हामीले संकलन गर्दै छौं ।’उनले भने–‘आधा मध्ये २५ प्रतिशत रकम(सवा करोड रुपैयाँ) संकलन भईसकेको छ ।’ उनका अनुसार क्याथ ल्याब मेशिन सेप्टेम्बरभित्र मगाउने लक्ष्यसहित काम क्लबले गरिरहेको उनले जानकारी दिए । ‘छिटोमा सेप्टेम्बर , ढिलोमा जूनसम्म मेशिन ल्याउँछौं ।’ उनको भनाई थियो । ल्याब शुरु गरिए मुटुको शल्यक्रिया बाहेकका सबै उपचार पोखरामै सहज हुने छ ।

मुटु उचारको लागि कार्डियोलोजिष्टसँगै सर्जन, क्याथ ल्याब प्राविधिक, नर्सिङ स्टाफ लगायतका मानवसंशाधनको खाँचो पर्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले एक जना मात्रै कार्डियोलोजिष्ट छन् । ‘जनशक्तिको अभाव छ । तर पनि सेवा अनिवार्य भईसकेको छ । सेवा नहुदाँ विरामी निजी अस्पताल वा काठमाडौं जानुको विकल्प छैन् ।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा थापाले भने–‘क्याथ ल्याब मेशिन आउनु अघि नै जनशक्तिलाई तालिम दिनुपर्ने खाँचो छ ।’ उनका अनुसार कार्डियोलोजिष्टसँगै कार्डियोसर्जन लगायत प्राविधिक आवश्यक जनशक्तिलाई तालिम दिनुपर्ने छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी दरबन्दीको कार्डियोलोजिष्टको अभाव छ । एउटा कार्डियोलोजिष्टले मात्रै भ्याउन नसक्ने प्रतिष्ठानको भनाई छ । ‘सरकारी दरबन्दी छ । तर डाक्टर आउँदैनन्’ उनले भने–‘ दरबन्दी हुने डाक्टर नहुने समस्याले सेवा सञ्चालनमा ढिला हुदैं गएको हो । प्रतिष्ठानकै दरबन्दीमा एक जना चिकित्सक छन् ।’

उनले सरकारसँग क्याथ ल्याब मेशिन सरकारसँग माग गरिरहेको अवस्थामा रोटरी सम्पर्कमा आएपछि सम्झौता गर्दै सेवा सञ्चालन गरिने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा अहिले कार्डियोलोजिष्टको रुपमा आशिष त्रिपाठी रहेका छन् ।

क्याथ ल्याबको लागि आवश्यक पुवर्धार तयारी शुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा. थापाको भनाई छ । उनका अनुसार नयाँ भवन निर्माणाधिन अवस्थामा छ । तयार भईसकेको छैन् । भवन तयार हुन केही ढिलो हुने सम्भावनाले अपरेशन गर्ने कोठालाई उपयोग गर्न सकिने छ । त्यो नभए रक्तसञ्चार बैंक नजिकै भवन बनाउने योजना समेत रहेको उनले सुनाए । ‘आवश्यकता अनुसार शल्यक्रिया गर्ने चिकित्सक पनि चाहिन्छ ।’ उपकुलपति प्रा.डा. थापाले भने–‘ तर हामीसँगै सर्जन भने छैनन् ।’

मुटु उपचार केन्द्र स्थापनपछि कार्डियोलोजिष्ट २ जना, सर्जन, क्याथ ल्याब प्राविधिक ३, नर्सिङ स्टाफ ३ जना आवश्यक पर्ने छ । हलसहित सिसियु, आईसियु कक्षको आवश्यक पर्छ । आईभीयुएस मेशिन, एफटीओ मेशिन, इको मेशिन, सिरिन्ज पम्प, इन्जेक्टर सिरिन्ज, रोभर, ईसिजी लगायतका उपकरण आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ । सम्झौतामा उपचार केन्द्र सञ्चालनको लागि ५ सदस्यीय टोली गठन गरिने छ ।

दुई जना प्रतिष्ठानबाट, दुई जना रोटरी क्लबबाट र एक जना स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत एवं समाजसेवी गरी ५ सदस्यीय टोली बनाईने छ । टोलीले बनाएको कार्यदिशा अनुसार गरीब असाहाय विरामीलाई निशुल्क तथा सहुलियतयुक्त सेवा उपलब्ध गराउन निर्णय गर्न सक्ने छ । आवश्यक जनशक्तिको लागि जयन्ती ट्रष्टसँग समेत सम्झौता गर्ने उपकुलपति प्रा. डा. थापाको भनाई थियो ।

प्रतिष्ठानले यसै वर्ष एमडि/एमएचको पठन पाठन शुरु गर्ने जनाएको छ । मेडिकलबाट काउन्सिलबाट १७ सिट स्वीकृति भएर आएको छ । स्त्रीरोग तर्फ ४, सर्जरीमा ४, अर्थोपेडिकमा ३, बालरोग तर्फ ३, मेडिसिनमा ३ र एनेष्थेसियामा ३ सिटको स्वीकृति भएको प्रतिष्ठानले जनाएको छ ।

बजेट शीर्षक अन्तगृत प्रतिष्ठानको लागि यसैवर्षदेखि रातो किताब मार्फत बजेट विनियोजन भएर आउने उनले जनाए । पोखरामा रोटरी क्लबले डाईलासिस सेन्टर समेत शुरु गरिसकेको छ । खानेपानी अन्तर्गत सराङकोट, भरतपोखरी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा खानेपानी आयोजना पुरा गरिसकेको छ । २२ वर्ष अघिदेखि पोखरामा स्थापित रोटरीका विभिन्न ७ वटा क्लबहरु छन् ।

कमेन्टहरु
Loading...