क्यान्सरपिडित प्रियालाई ५ लाख ८५ हजार सहयोग

पोखरा, १२ भदौ/भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपिडित प्रिया गुरुङलाई ५ लाख ८५ हजार रुपैयाँ नगद सहयोग हस्तान्त्ररण गरेको छ । आरुघाट २, मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपिडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आईतवार पोखरामा हस्तान्तरण गरेको हो ।

आरुघाट २ मान्बु गोरखा घर भएकी प्रिया पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन् । १९ वर्षकी प्रियालाई करिब ६ महिनाअघि अचानक खुट्टा दुखेपछि आमाले पोखराको फेवासिटी अस्पताल लगेकी थिइन् र त्यहाँ अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरिएपछि उनलाई नशा सम्बन्धी क्यान्सर भएको पत्ता लागेको थियो । सोहि अस्पतालकै सुझावको आधारमा प्रियाले भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचारको लागि लगिएकोे उनकी आमा कन्यामायाले बताइन् ।

उनका बताएअनुसार प्रियाको पूरा उपचारको खर्च करिब २० लाख भारतिय रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ) लाग्नेछ । उनले भनिन् “धेरैले सहयोग गरिरहेको छ, यसरी सहयोग नपाएको भए उपचार सम्भव थिएन् ।” आर्थिक संकलन अभियानकी नेतृत्वकर्ता बविता गुरुङले आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र युवा अवस्थामा नै आर्थिक अभावले ज्यान जान लागेकोले आफुले केही गर्न सकिन्छ कि भनेर रकम संकलन अभियानमा जुटेको बताईन् ।

बबिता काठमाण्डौंको किर्तिपुर क्याम्पसमा एम एस्सीमा अध्ययनरत विद्यार्थी हुन् । उक्त रकम जम्मा गर्न उनले फेसबुक मार्फत आह्वान गरेकी थिइन् । उनले उक्त रकम जुटाउन देश तथा विदेशमा बस्ने नेपालीहरुले सहयोग गरेको स्मरण गरिन् ।

मान्बुकै पाइलट सन्तबहादुर लामिछानेले आर्थिक अभावकै कारण धेरैले यस्ता ठुला रोग लाग्दा ज्यानै गुमाउन पर्ने अवस्था आउनु ज्यादै दुःखद भएको बताए । क्यानसरपिडित प्रिया सुर्यबहादुर गुरुङ र कन्यामाया गुरुङकी पहिलो सन्तान हुन् । उनीसँगै अर्को एउटा छोरी र छोरा भएको सुर्यबहादुर गुरुङको पेशा ट्रेकिङ हो तर हाल उनी छोरीलाई उपचारको लागि विगत ६ महिनादेखि भारतमै छन् ।

कमेन्टहरु
Loading...