जन्म दिनमा पौडेलद्वयद्वारा दृष्टिबिहीन विद्यार्थी र पत्रकार महासंघलाई सहयोग

पोखरा, २५ माघ/नेपाल पत्रकार महासंघ कास्कीका कार्यकारिणी सदस्य तथा युवा पत्रकार सुरेन्द्र पौडेल र पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य सोवित पौडेलले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । पौडेल द्वयले शुक्रबार आफ्नो जन्मोत्सवको अवसरमा पत्रकार महासंघ कास्कीलाई नगद २० हजार र कुँडहर आधारभूत विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई लत्ताकपडा तथा खाद्यान्न सहयोग प्रदान गरेका हुन् ।

उनीहरुले जन्मोत्सवको अन्य खर्च कटाएर दृष्टिबिहीन विद्यार्थी र पत्रकार महासंघलाई सहयोग गरेका बताएका छन् । पौडेलद्वयले पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई नगद २० हजार हस्तान्तरण गरेका थिए । रकम ग्रहण गर्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले पौडेल द्वयले आफ्नो जन्मोत्सवमा सामाजिक कार्य गरेर अरुलाई पनि प्रेरणा दिएको बताए ।

जन्मोत्सवको अवसरमा पौडेल द्वयले शुक्रबार नै कुँडहर आधारभूत विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग गरे । लायन्स क्लब अफ पोखरा हेरिटेजको व्यवस्थापनमा सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा लायन्सका सिनियर एओजी विशेश्वर आचार्यले रचनात्मक काम गरी जन्मदिन मनाउने क्रम बढ्नु सकारात्मक भएको बताए । क्लबका अध्यक्ष शिव सुवेदीका अध्यक्षतामा कार्यक्रम भएको हो । रिजन चियरपर्सन अर्जुन थापाले जन्मदिनमा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेर अरुलाई पनि प्रेरणा प्रदान मिलेको बताए । १५ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा खाद्यान्न सहयोग गरिएको शोवित पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...