विप्लव कार्यकर्ताहरु रातभर उच्च अदालत परिषद्मा

पोखरा, ४ असार /थुनामुक्त भएलगत्तै पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नौ जना कार्यकर्तालाई उच्च अदालत पोखराले मंगलवार पुनः थुनामुक्त गर्न आदेश दिएपनि उनीहरु उच्च अदालत पोखरा परिषदमा रात विताएका छन् ।

अदालतले थुनामुक्त गर्न आदेश दिएपछि विप्लव कार्यकर्ताहरुले मानवाधिकार आयोग कास्कीका अधिकृत ज्योती प्रसाद घिमिरे, टंक खनाल र नेपाल बार एशोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छुटेको व्यहोरा सहितको कागजातमा सहिछाप गरेका थिए ।

उनीहरुलाई पक्राउ गर्ने प्रहरी उच्च अदालत नजीक बसेका कारण उनीहरु उच्च अदालत परिषदमा बसेका थिए । प्रहरीले गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै जंगबहादुर भण्डारी सहितको नौ जनाको टोली परिषद भित्रै रात भर बसेको बताए ।

अदालतमा पक्राउ पर्ने मध्येका जंगबहादुर भण्डारी (आक्रोश) को तर्फबाट पृथ्वीराज भण्डारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिट उपरको सुनुवाई पश्चात मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश डालकुमार खड्काको इजलाशले जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

मंगलबार निवेदकतर्फबाट रोहितराज बास्तोला, सन्तोष कोईराला, मिना कुमारी रानाभाट, हिमलाल पराजुली, ईश्वर चिलवाल, सन्तोषमणि लामिछाने र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र विपक्षमा उपन्यायधिवक्ता प्रेमराज पौडेलले बहस गरेका थिए ।

बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो । बुधबार जिऊसो नौ जना मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरे तनहुँ पठाएको छ भने पाँच जना भने घर फर्किका छन् ।

कमेन्टहरु
Loading...